बमको नेतृत्वमा नेपाल जेन‍-जी फ्रन्ट गठन

शुक्रबार, १५ कार्तिक, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनकी अगुवा रक्षा बमको संयोजकत्वमा नेपाल जेन-जी फ्रन्ट गठन गरिएको छ । २३ र २४ भदौको जेन-जी विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौता गर्ने एजेन्डाहरू एकीकृत गर्ने र यस विद्रोहसँग जोडिएका सबै व्यक्ति, समूह, संघ र संगठन तथा यस विद्रोहप्रति शुभेच्छा र सदभाव राख्ने सम्पूर्ण नेपाली नागरिकमा एकताको आह्वान गर्ने उद्देश्यका साथ जेन-जी फ्रन्ट गठन गरिएको संयोजक बमले बताइन् । 

प्रारम्भिक रूपमा गठन गरिएको जेन-जी फ्रन्ट संघीय संयोजन समितिमा युजन राजभण्डारी (संगठन समिति), यतिष ओझा (सूचना सञ्चार समिति), मनीष खनाल (संवाद समिति), आदित्य कर्ण (प्रदेश समन्वय समिति),  ऋतु खड्का, अमृता बन, आस्थान्जु बस्नेत, जनक पोखेल, विनिता बोगटी, ऋषि थापा, आदर्श कर्ण, निर्जला तामाङ, मनीषा थापामगर, आदेश सुनार, नजिर आलम, टंकप्रसाद जैसी, रियाव बानियाँ, नवी विष्ट, प्रव बस्न्यात, यादव अर्याल, आशुतोष कार्की, सचिन चापागाईं, अभिषेक चौधरी, रवीन्द्र उपाध्याय, रोजन परियार सदस्य छन् ।  

यसैगरी, आसन अन्सारी, कामना पौडेल, सपना पुनमगर, संविधान प्रसाईं, लुजा महर्जन, समर्पण न्यौपाने, युवराज खड्का, पूजा मेहता, आदर्शविक्रम सिंह, उत्सव देवकोटा, रवि शर्मा, निरन कार्की, युवराज उपाध्याय सदस्य छन् । समितिले जेन–जी विद्रोह र आगामी कार्यभारसहितको दस्ताबेज पनि सार्वजनिक गरेको छ ।  

दस्ताबेजको प्रस्तावमा ‘लोकतन्त्र, न्याय तथा संविधानवादप्रतिको अटल र अविचल अठोट बोकेर, राजनीतिक सत्ता र सामाजिक संरचनामा दशकौँदेखि संस्थागत रूपमा रहेको बेथिति, भ्रष्टाचार, नातावाद, कृपावाद, दमन र असमानताको अन्त्य गर्न दृढ संकल्पित भई, पुस्तान्तरणसहितको रूपान्तरणकारी युवा नेतृत्वको मर्ममा अडिग रही, शासन संस्कारको पुनर्निर्माणको आवश्यकतालाई स्वीकार गर्दै अगाडि बढ्ने’ भनिएको छ । 

यसैगरी नागरिक सर्वोच्चता, अभिव्यक्ति स्वतन्त्रता र पारदर्शी एवं जवाफदेही शासन व्यवस्थालाई जेन-जी विद्रोहको मूल आधार मानेर, भदाै २३-२४ गतेको जेन-जी विद्रोहका सहिद तथा घाइतेहरूका साथै इतिहासका सम्पूर्ण सहिद, बेपत्ता, घाइते र पीडितहरूको त्याग र बलिदानलाई सम्मान तथा स्मरण गर्दै र त्यस बलिदानलाई राजनीतिक विरासतमा रूपान्तरण गर्ने उत्तरदायित्व ग्रहण गर्ने भनिएको छ । 

समावेशी तथा समानुपातिक प्रतिनिधित्वका सिद्धान्तमार्फत जातीय, भाषिक, धार्मिक, क्षेत्रीय र लैंगिकलगायत सबै किसिमका विभेद र सीमान्तीकरणको उन्मूलन गर्न प्रतिबद्ध रहँदै, भ्रष्ट एवं दमनकारी संरचनाहरूको विघटन गरी न्यायोचित, पारदर्शी र उत्तरदायी शासनको स्थापना गर्ने लक्ष्य लिएर सबै सरकारी सार्वजनिक पदाधिकारीहरूको जवाफदेहितालाई सुनिश्चित गराउने सामाजिक व्यवस्था निर्माण गर्ने घोषणासहित, नागरिकबाट व्युत्पन्न राज्यको अधिकारबाट सञ्चालित राजनीतिक सत्ता कुनै व्यक्ति, समूह वा संगठनको निजी सम्पत्ति नभएको स्पष्ट पारिएको छ । 

‘यस जेन-जी विद्रोहले भ्रष्टाचार र कुशासनमाथि प्रश्न सँगसँगै शासन संस्कारमा संस्थागत रूपान्तरणको प्रस्तावसहित सुव्यवस्थित वैधानिक मार्गद्वारा नयाँ राजनीतिक संस्कार निर्माण गर्ने व्यावहारिक कदमहरू अघि सार्दै, कुनै व्यक्तिवादी उग्रवादका अनुयायी नबनी, समकालीन राजनीतिक चेतना र ऐतिहासिक उत्तरदायित्वबिचको सम्बन्धलाई पुनर्स्थापित गर्दै,’ प्रस्तावनामा भनिएको छ, ‘लोकतन्त्र, गणतन्त्र र नागरिक अधिकारको सर्वोच्चतामा आधारित रही घोषणा गर्दछौँ कि जेन-जी विद्रोह एक सैद्धान्तिक, वैचारिक र राजनीतिक आन्दोलन हो, जसले नेपालको शासन, नीति र सामाजिक संरचनालाई नयाँ परिभाषा दिनेछ ।’

सुझावित समाचार