प्रधानमन्त्री सुशीला कार्कीले राहदानी अभाव हुन नदिन जर्मन राजदूत उडो भोल्जलाई आग्रह गरेकी छिन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा प्रधानमन्त्री कार्कीले नेपालमा दुई महिनाका लागि मात्रै पुग्ने राहदानी रहेकाले अभाव हुने भएकाले छपाइको जिम्मा पाएको जर्मन कम्पनीलाई आवश्यक पहल गरिदिन राजदूत भोल्जलाई आग्रह गरेकी हुन् ।
जर्मनीका राजदूत उडो भोल्जले प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै सदाझैँ नेपालको प्राथमिकताअनुसार आवश्यक सहयोग गर्न तयार रहेको बताए । सञ्चारमन्त्री जगदीश खरेल, परराष्ट्रसचिव अमृतबहादुर राई, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहितका अधिकारीलाई राखेर प्रधानमन्त्री कार्कीले राजदूत भोल्जसँग कुराकानी गरेकी हुन् ।
हाल मासिक रूपमा करिब एक लाख पासपोर्ट माग भएको विभागका अधिकारीहरूको भनाइ छ । ‘प्रधानमन्त्री कार्कीले नेपालको राहदानी छपाइको जिम्मा पाएको जर्मन कम्पनीसँग सम्झौतामा भएको मितिअगावैदेखि राहदानी छपाइका लागि आवश्यक पहल गरिदिन आग्रह गर्नुभयो,’ प्रधानमन्त्रीको निजी सचिवालयले पठाएको प्रेस नोटमा भनिएको छ, ‘नेपाली नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्ने यस कार्यमा जर्मन पक्षबाट सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गर्नुभयो ।’ जवाफमा राजदूत भोल्जले आफ्नोतर्फबाट कम्पनीलाई अनुरोध गरी यस विषयमा सक्दो पहल गर्ने आश्वासन दिएका छन् । ठेक्का पाएका कम्पनीहरू जर्मन सरकारको आंशिक स्वामित्वमा रहेका कम्पनी हुन् । जर्मन कम्पनी भेरिडोसले राहदानी विभागसँगको सम्झौताअनुसार ११ फागुनदेखि नयाँ पासपोर्ट छपाइ गर्दै छ ।