प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्डका कारण पर्न सक्ने सम्भावित असर अध्ययन गरी आवश्यक पहलकदमीका लागि गृहकार्य गर्न निर्देशन दिएकी छिन्।
प्रधानमन्त्रीले श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई सोबारे अध्ययन गरी आवश्यक पहलकदमीका लागि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री कार्कीले बिहीबार बिहान सचिव पुष्करलाई आफ्नो कार्यकक्षमा बोलाएर यस विषयमा जानकारी लिएकी थिइन्।
सचिव पुष्करले मलेसियाले जारी गरेको नयाँ मापदण्डबारे जानकारी प्राप्त भएको र कूटनीतिक रूपमा यस विषयको सम्बोधन गर्नुपर्ने बताए। प्रधानमन्त्री कार्कीले परराष्ट्र, अर्थ र श्रम मन्त्रालयसँग पनि समन्वय गर्न निर्देशन दिएकी छिन्।
मलेसिया धेरै नेपाली कामदार वैदेशिक रोजगारीमा जाने गन्तव्यमा पर्छ। नेपालमा करिब १२०० वैदेशिक रोजगारी व्यवसायीमध्ये नाै सयवटा मलेसियाकै व्यवसायमा आश्रित छन्।
मलेसियाको नयाँ मापदण्डले नेपालका करिब एक दर्जन ठुला कम्पनी मात्र उक्त मुलुकमा कामदार पठाउन योग्य हुने वैदेशिक रोजगारी व्यवसायीहरूको भनाइ छ।