ऐश्वर्या श्रेष्ठ राष्ट्रसंघको एसडिजी युवा नेतामा छनोट

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघ युवा कार्यालयद्वारा दिगो विकास लक्ष्य (एसडिजी)का लागि विश्वभरि छनोट भएका युवामा नेपाली नागरिक पनि परेका छन् । नेपालकी ऐश्वर्या श्रेष्ठ विश्वका युवाहरूको सूचीमा एसडिजी युवा नेतृका रूपमा चयन भएकी हुन् । राष्ट्रसंघले विश्वका १७ जना युवालाई दिगो विकास लक्ष्यका लागि युवा नेता छनोट गरेको छ । राष्ट्रसंघ दिवसका अवसरमा सार्वजनिक गरिएको सूची युवाहरूको पाँचौँ संस्करण भएको नेपालस्थित राष्ट्रसंघीय कार्यालयले जनाएको छ ।

यस वर्षको १७ जना विश्वका युवामा पर्न सफल ऐश्वर्या हर्ट अफ नेपाल र अन्तरध्वनि नेपाल नामक संस्थाकी सहसंस्थापक हुन् । उनले दलित र जनजाति समुदायका बालबालिकाको शिक्षा, आमाहरूको सशक्तीकरण तथा पहुँच नपुगेका क्षेत्रहरूमा मानसिक स्वास्थ्य सेवाको विस्तारमा योगदान दिँदै आएको राष्ट्रसंघले बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । 

‘ऐश्वर्याको चयनले नेपाली युवाको नेतृत्व र आवाजलाई विश्वमञ्चमा प्रतिनिधित्व गरेको छ,’ राष्ट्रसंघीय कार्यालयले भनेको छ । हरेक दुई वर्षमा राष्ट्रसंघ युवा कार्यालयले विश्वका युवा परिवर्तनकर्मीलाई छानेर एसडिजी युवा नेताका रूपमा सम्मान गर्दै आएको छ । दिगो विकास लक्ष्यका लागि सहयोगी कार्य गर्ने युवालाई राष्ट्रसंघले सम्मान गर्दै आएको छ । राष्ट्रसंघका अनुसार यसपटक १५० भन्दा बढी देशका ३३ हजारभन्दा बढी युवाले आवेदन दिएका थिए । १६ देखि ३३ वर्ष उमेर समूहका ती युवाबाट नेपालीसहित १७ जना छनोट भएका हुन् । 

सुझावित समाचार