कीर्तिमानी मूल्यबाट ओर्लिँदै सुन

दुई दिनमा तोलामै १३ हजार ६ सय रुपैयाँले घट्यो, फेडले ब्याजदर घटाउने अपेक्षामा लगानीकर्ता

मंगलबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण

कीर्तिमानी मूल्यबाट सुनको मूल्य निरन्तर ओरालो लागेको छ । यो साता अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले ब्याजदर कटौती गर्ने अपेक्षा लगानीकर्ताले गरेका छन् । साथै, चीन र अमेरिकाको व्यापार सम्बन्धमा सुधार आउने अनुमान अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको छ । यसले सुनको मूल्य घट्न लागेको हो । 

गत साता सोमबार (३ कात्तिक) सुनको मूल्य तोलामा दुई लाख ५३ हजार पाँच सय रुपैयाँसम्म पुगेको थियो । तिहारको सार्वजनिक बिदाका लागि एक सातासम्म सुनको मूल्य समायोजन गरिएको थिएन । यसबिच अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको थियो । तिहारलगत्तै आइतबार खुलेको नेपाली बजारमा सुन प्रतितोला ११ हजार ६ सय रुपैयाँले घट्यो । सोमबार पनि प्रतितोला दुई हजार रुपैयाँ सस्तियो । बुधबार बस्ने भनिएको फेडको बैठकमा २५ आधार विन्दुले ब्याजदर घटाउने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔँस चार हजार २९ दशमलव ६९ अमेरिकी डलरसम्म कायम छ । 

सुनको मूल्य बढ्दा नेपाली बजारमा पनि यसपालि सुनको माग ह्वात्तै बढेको छ । सुन थप महँगिँदै जाने डरले नेपाली बजारमा पनि सुनका गरगहनाको माग बढेको थियो । सुनको आपूर्ति बढाउन नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएर २५ किलोसम्म पुर्याएको थियो । खासगरी भारतबाट सुनको तस्करी बढ्ने जोखिमलाई पनि मध्यनजर गरेर सुन आयातको कोटा बढाइएको थियो ।

विदेशी मुद्राको सञ्चिति अधिक मात्रामा रहेकाले सुन आयातको कोटा बढाउन केन्द्रीय बैंकलाई नीतिगत रूपमा सहज थियो । धनत्रयोदशीमा सुनका गरगहना किन्ने प्रचलनले पनि यो समयमा सुनको मागलाई बढाउन टेवा पुगेको थियो । चालू आर्थिक वर्षको तीन महिनामा ६ सय किलोबराबरको सुन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । 

See More On

सुझावित समाचार