आइतबार बोलिभियाको राष्ट्रपति पदका लागि भएको दोस्रो चरणको चुनावमा मध्य–दक्षिणपन्थी उम्मेदवार रोड्रिगो पाजले निर्णायक जित हासिल गरे । योसँगै यस दक्षिण एसियाली देशमा नयाँ राजनीतिक युगको सुरुवात भएको छ । हुन पनि विगत दुई दशकको अधिकांश समय यस देशमा वापमन्थी सरकार थियो । छोटो अन्तरालबाहेक पूर्वराष्ट्रपति इभो मोरालेसले गठन गरेको समाजवादी पार्टी ‘मुभमेन्ट टुवर्ड सोसलिजम (एमएएस)’ निरन्तर सरकारमा रह्यो ।
तर, पछिल्लो समय एमएएसप्रति आममतदातामाझ मोहभंग यति ठुलो देखियो कि पार्टी यसपटक दोस्रो चरणमा पुग्न सकेन । दोस्रो चरणको निर्वाचनमा मतदातासामु उग्र दक्षिणपन्थी उम्मेदवार सिनेटर जर्ज क्विरोगा र मध्य दक्षिणपन्थी पाजमध्ये एक छनोट गर्ने विकल्प थियो । आइतबारको मतपरिणामपछि क्विरोगाले तुरुन्तै पाजको विजय स्वीकार गरे । चुनावअघि दुवै उम्मेदवारको आलोचना गरेका मोरालेसले पनि पाजको जित स्विकारेका छन् । जबकि, चुनावको समयमा उनले आफ्ना समर्थकलाई मतपत्र च्यात्न आवाज गरेका थिए ।
खसेको मतको विश्लेषणले विगतमा एमएएसलाई मत दिने गरेका अधिकांश आदिवासी र श्रमिक वर्गले पाजलाई मत दिएजस्तो देखिन्छ । क्विरोगाजस्तै, पाजले बजार–समर्थक सुधारको वाचा गरेका छन् । तथापि, दुई उम्मेदवारका अन्य मुद्दा भने भिन्न थियो । विशेषतः उग्र दक्षिणपन्थी क्विरोगाको विपरीत पाजले बजारतर्फको सुधार अचानक नभई क्रमिक हुने बताउँदै आएका छन् । पाजको चुनावी नारा ‘सबैका लागि पुँजीवाद’ भन्ने थियो, जसले विपन्न बोलिभियालीको समेत फाइदा गर्ने बताइएको छ ।
बोलिभिया अहिले गहिरो आर्थिक संकटमा फसेको छ । निराश आर्थिक परिदृश्यमा धेरै बोलिभियालीले परिवर्तन खोजेका हुन सक्छन् । सेप्टेम्बरमा देशको वार्षिक मुद्रास्फीति २३ प्रतिशतसम्म पुगेको थियो । देशमा इन्धनको अभावले पेट्रोलपम्पमा ग्राहकको लामो लाइन देखिन थालेको छ ।
बोलिभिया अहिले गहिरो आर्थिक संकटमा फसेको छ । निराश आर्थिक परिदृश्यमा धेरै बोलिभियालीले परिवर्तन रोजेका हुन सक्छन् । सेप्टेम्बरमा देशको वार्षिक मुद्रास्फीति २३ प्रतिशतसम्म पुगेको थियो । देशमा इन्धन अभावले पेट्रोलपम्पमा ग्राहकको लामो लाइन देखिन थालेको छ । अमेरिकी डलरको सञ्चितिमा आएको तीव्र गिरावटका कारण सरकारले अन्तर्राष्ट्रिय ऋणदातालाई आगामी ऋण भुक्तानी गर्न सक्छ कि सक्दैन भन्ने कुरामा पनि शंका उब्जिएको छ ।
दुई वर्षअघि छिमेकी अर्जेन्टिनामा राष्ट्रपति जेभियर मिलेईले सुरु गरेको मिसनजस्तै बोलिभिया पनि अब दक्षिण अमेरिकामा बजार–समर्थित आर्थिक सुधारको परीक्षणस्थल बन्ने देखिन्छ । दुवै देशका नेताले दसकौँदेखि अर्थतन्त्रमाथि कायम भएको सरकारी नियन्त्रणलाई खुकुलो पार्ने लक्ष्य राखेका छन् । चुनावी अभियानको क्रममा पाजले बोलिभियाको सरकारी खर्च कटौती गरेर घाटा बजेट कम गर्ने र निजी लगानी आकर्षित गर्न लामो सरकारी प्रक्रिया अन्त्य गर्ने लक्ष्य राखेका छन् । बोलियामा विशाल लिथियमको भण्डारण छ, जुन भारी राज्य नियन्त्रणका बिचमा उत्खनन हुन थालेको छ ।
तैपनि, पाजले प्रस्ताव गरेका योजना जेभियर मिलेईको ‘सक थेरापी’भन्दा कमै उग्र छ । बोलिभियाका नवनिर्वाचित राष्ट्रपतिले ‘उयुनी’ खानी क्षेत्र नबेच्ने बताएका छन् । साथै, उनले देशमा हुने विदेशी लगानीले स्थानीय क्षेत्रलाई फाइदा पु¥याउनुपर्ने पनि जोड दिएका छन् । पाज विदेश नीतिमा पनि अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईभन्दा फरक देखिन्छन् । ट्रम्पका कट्टर समर्थक अर्जेन्टिनाका राष्ट्रपतिले वैचारिक रूपमा वामपन्थी राजनीतिक नेता भएका छिमेकी देशको समेत खुलेरै अपमान गरिरहेका हुन्छन् । साथै, उनी क्षेत्रीय सहयोग पहलको आलोचना गरेका छन् ।
पाजले भने व्यावहारिक विदेश नीति अँगाल्ने बताएका छन् । उनले ट्रम्प नेतृत्वको संयुक्त राज्य अमेरिकासँग मात्र नभई वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको नेतृत्वको ब्राजिलसँग पनि सहकार्य गर्ने बताएकाछन् । देशको तेल अभाव सम्बोधन गर्न तत्काल बोलिभियाले संयुक्त राज्य अमेरिकाका साथै दक्षिण अफ्रिकी देशको व्यापारिक गठबन्धन मर्कोसुरका देशहरूबाट इन्धन किन्ने पाजको पार्टीका आर्थिक सल्लाहकारले भने ।
बोलिभिया गत वर्ष मात्र औपचारिक रूपमा मर्कोसुरमा सामेल भएको थियो । गठबन्धनको मापदण्डसँग मेल खाने नियमअनुकूल गर्न यो अहिले बहुवर्षीय संक्रमण प्रक्रियाको बिचमा छ । बोलिभिया सामेल भएदेखि मर्कोसुरले धेरै व्यापार–सम्झौताको घोषणा गरिसकेको भए पनि बोलिभिया तुरुन्तै त्यसमा प्रवेश गरेको छैन । पाजले यसै हप्ता मात्र बोलिभियाले पहिले ‘आफ्नो घरभित्रको अवस्था व्यवस्थित नगरेसम्म’ ब्लकको व्यापार वार्तामा सामेल हुनबाट रोक्ने बताएका छन् ।
यसैबिच, पाजले ‘डिपभलपमेन्ट बैंक अफ ल्याटिन अमेरिका एन्ड क्यारिबियन’ र ‘फोनप्लाटा डिपभलपमेन्ट बैंक’जस्ता क्षेत्रीय ऋणदाताबाट आफ्ना सुधारलाई सघाउने गरी ऋण लिने विचार गरेका छन् । पाजका प्रतिद्वन्द्वी क्विरोगाले भने यसका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)मा जाने वाचा गरेका थिए । तथापि, पाजले त्यो दिशामा कदम चाल्ने कि नचलाउने भन्नेबारेमा केही भनेका छैनन् ।
आर्थिक उदारीकरणका रणनीतिले के गर्न सक्छ र के गर्न सक्दैन भन्ने कुरा पाजले केही दिनभित्रै प्रमाणसहित थाहा पाउनेछन् । आइतबार, अर्जेन्टिनामा मध्यावधि चुनाव हुँदै छ । त्यसलाई व्यापक रूपमा मिलेईको सुधारप्रति आमधारणाको जनमतसंग्रहका रूपमा हेरिएको छ । अर्जेन्टिनाको मतदानले आर्थिक साझेदारको रूपमा आइएमएफ र ट्रम्प प्रशासनको प्रतिष्ठालाई बलियो बनाउने वा थप कमजोर बनाउने काम गर्नेछ ।
फरेन अफेयर्सबाट