एमालेले च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ । २३ र २४ भदौको जेन–जी आन्दोलनका क्रममा भएको आगजनीबाट ध्वस्त बनेको कार्यालय तिहारलगत्तै शनिबारबाट सञ्चालनमा आएको हो ।
कार्यालय परिसरमा पाल टाँगेर दैनिक कामकाज सुरु गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् । कार्यालय सञ्चालन गर्न उपमहासचिव विष्णु रिमाल, स्थायी समिति सदस्यद्वय भानुभक्त ढकाल र डा. राजन भट्टराई तथा केन्द्रीय आर्थिक तथा लेखा विभागका सदस्य लोकबहादुर भण्डारीलगायत नेता पुगेका थिए ।
२४ भदौको जेन–जी आन्दोलनले उग्र रूप लिँदा एमालेसहित अधिकांश पार्टीका केन्द्रीय कार्यालय, शीर्ष नेताहरूको घर आगजनी र तोडफोड भएको थियो । एमालेले पार्टीबाट बाहिरिएर आम जनता पार्टीका अध्यक्ष प्रभु साहको छोरासहितको उग्र समूहले कार्यालय जलाएको बताउँदै आएको छ ।
२७ देखि २९ मंसिरका लागि पछिल्लो केन्द्रीय कमिटी बैठकले एघारौँ महाधिवेशनको मिति तोकेकाले पनि एमाले तत्काल पार्टी कार्यालय सञ्चालन गरिहाल्नुपर्ने दबाबमा छ । अघिल्लो वर्ष पनि बाढीका कारण एमाले केन्द्रीय कार्यालयमा क्षति पुगेको थियो ।