माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले तोकिएको समयमा निर्वाचन हुने वातावरण अझै बन्न नसकेको बताएका छन् । महोत्तरीको रामगोपालपुरमा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जनकपुरस्थित विमानस्थल पुगेका प्रचण्डले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।
तोकिएको समयमा निर्वाचन हुनुपर्ने बताउँदै उनले भने, ‘फागुन २१ गते निर्वाचनको मिति तोकिएको छ। तर, अहिलेसम्म चुनावको वातावरण बनेको छैन।’
‘हिजो मात्रै प्रधानमन्त्री सुशीला कार्कीले दलहरूसँग निर्वाचनसम्बन्धी कुराकानी गर्नुभयो,’ उनले भने, ‘त्यसले केही वातावरण बनेको छ, तर अझै सरकारले निर्वाचनका लागि सक्रिय भूमिका खेलेको छैन।’
जेन–जी आन्दोलनपश्चात् बनेको चुनावी सरकारले चुनाव घोषणा गरेलगत्तै तोकिएको मितिमा निर्वाचन हुनुपर्छ भन्ने पक्षमा पहिलोपटक अपिल गर्ने आफ्नाे पार्टी मात्रै भएको उनले दाबी गरे । छठ पर्वपश्चात् वाम एकताका लागि प्रयास हुने उनको भनाइ छ ।