जेन-जी सहिद र विपिन जोशीबारे रुचाल र आचार्यको मार्मिम गीतः अब फर्केर आउँदिनँ म

मंगलबार, ५ कार्तिक, २०८२
डिजिटल संस्करण

पत्रकारद्वय राजन रुचाल र अविनाश आचार्यले जेन-जी आन्दोलमा सहिद भएकाहरू तथा विपिन जोशीमा समर्पित गर्दै गीत सार्वजनिक गरेका छन् । 

देशमा भ्रष्टाचार अन्त्य र शुसासन कायम गर्न माग गर्दै भदौ २३ र २४ गते जेन-जी उमेरका युवाहरूको अगुवाइमा देशभरि भएको प्रदर्शनमा ७० जनाभन्दा बढीको मृत्यु भएको थियो ।  यस्तै, पढाइ सकेर काम गर्न इजरायल पुगेका विपिन प्यालेस्टाइन र इजरायलको द्वन्द्वमा मारिएको खबर भर्खरै सार्वजनिक भयो ।

देश बनाउन आन्दोलनमा होमिएर बलिदान दिने युवा र रोजगारी खोज्दै विदेशी भूमि पुगेका युवाको दुःखद निधनमा गीत केन्द्रित छ ।  यो गीतमा अविनाश आचार्यको स्वर रहेको छ भने शब्द तथा लय राजन रुचालको रहेको छ । गीतको एरेन्ज विष्णु तामाङको रहेको छ । 

घरमा नभनी आन्दोलनमा हिँडेका युवाहरू अचानक गोली लागेर ढलेपछि आन्दोलन स्थलबाटै निस्किएको चित्कार गीतमा समेटिएको छ । देशप्रेम बोकेर शान्तिपूर्ण आन्दोलनमा होमिएका कलिला युवाहरूको मरणले मन छियाछिया भएकाले उनीहरूको सम्मानमा गीत निकालेको रुचालले बताए । 

परिवर्तनको माग गर्दै घटेको यो घटना र युवाहरूको बलिदानीलाइ सधैँ सम्झना दिलाइरहन र सत्तामा बसेकालाई झकझकाउन यो गीत सार्वजनिक गरिएको गायक आचार्यले बताए।
 

सुझावित समाचार