सिराहाको दक्षिणी सीमावर्ती बरियारपट्टि गाउँपालिका– ३ स्थित सीमावर्ती क्षेत्रबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ ।
चाडपर्वलक्षित सुरक्षा गस्तीमा रहेको प्रहरीले भारतीय सीमावर्ती बजार लदनियाँ हुँदै नेपाल आएका तीनजना युवकलाई विभिन्न प्रकारका १८ एम्पुल प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार पक्राउ पर्नेहरूमा सिराहाको सुखीपुर नगरपालिका– १० का करिब २१ वर्षीय संगीतकुमार सदाय, करिब २० वर्षीय रिझन शर्मा र सुखीपुर– ६ का करिब १९ वर्षीय सरोजकुमार राम रहेका छन् ।
सुरक्षा गस्तीमा रहेका प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका तीनजनालाई बरियारपट्टिस्थित पेट्रोल पम्पनजिक सोमबार साँझ रोकेर चेकजाँच गर्दा शर्मा र रामको साथबाट पाँच एम्पुल डाइजेपाम, ६–६ एम्पुल फेनार्गन तथा ट्रालजेसिस र एक एम्पुल इजेपम्प बरामद भएको उनले बताए ।
प्रहरीका अनुसार पक्राउ गरिएका तीनजनालाई जिल्ला प्रही कार्यालय सिराहाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।