ललितपुरमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ। महालक्ष्मी नगरपालिका–१, रातामकै चोकस्थितमा जीवन थापाले सञ्चालन गरेको स्वाद रेस्टुरेन्टको तेस्रो तलामा जुवातास खेलिरहेकाहरूलाई सातदोबाटो वृत्तकी डिएसपी पूर्णिमा चन्दको कमान्डमा गएको टोलीले ८ लाख ७५ हजार एक सय ८५ नगदसहित आइतबार दिउँसो पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रेस्टुरेन्ट सञ्चालक थापासहित कैलालीका दीपेश ऐर, ललितपुर लामाटारका राकेश खड्का, भक्तपुरको सूर्यविनायकका मनोज बानियाँ, नुवाकोटका समीर सुनार, डोटीका पदम साउद, काभ्रेपलाञ्चोकका सूर्य लामा, काठमाडौंका रोजिन ठकुरी, ओखलढुंगाका संजय खत्री र ललितपुर इमाडोलका विजय विष्ट छन्। सो रेस्टुरेन्टमा नियमित रूपमा जुवा खेलाइने गरेको सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो।