आफूले एमालेको नेतृत्व नछाड्ने अध्यक्ष केपी ओलीको अडानलाई कसरी हेर्नुभएको छ ?
ओलीले पार्टी नेतृत्व नछाड्ने दाबी गर्न नमिल्ने भन्ने होइन । एमालेको अध्यक्ष कसलाई बनाउने या कसलाई अध्यक्षबाट हटाउने भन्ने निर्णय एमालेका सार्वभौम पार्टी सदस्यले गर्ने हो । म नेतृत्वबाट हट्दिनँ भन्न पाइन्छ । त्यसलाई पार्टी सदस्य या महाधिवेशन प्रतिनिधिको बहुमतबाट सिद्ध भने गर्न सक्नुपर्छ । तर, यसो भन्दै गर्दा त्यसबाट भविष्यमा उत्पन्न हुने परिणाम र त्यसको प्रभावको सामना भने सम्बन्धित व्यक्ति स्वयंले नै गर्नुपर्ने हुन्छ ।
उपसभापतिलाई कार्यवाहक दिने कांग्रेस सभापति शेरबहादुर देउवाको निर्णयले कस्तो राजनीतिक अर्थ राख्छ ?
कांग्रेस सभापति देउवाको यस कदमले कांग्रेसमा ‘लिबरल डेमोक्रेटिक भ्यालु’ बाँकी नै रहेछ भन्ने सन्देश दिएको छ । यसले समग्र राजनीतिमा सकारात्मक सन्देश प्रवाह गरेको छ । सभापति देउवाले आफूविरुद्धको आक्रोश, घृणा या निराशालाई समयमै बुझ्न सकेको देखिन्छ । सकारात्मक नैतिक राजनीतिको खडेरी पर्दै गएको पछिल्लो समयमा यसले थोरै भए पनि आशा जगाएको छ ।
पुराना दलका नेतृत्वलाई सच्चिन किन यति सकस परेको होला ?
दलहरूको नेतृत्व सच्चिनुपर्यो भनेको त हामीले न हो । सच्चिने कि नसच्चिने भन्ने त सम्बन्धित व्यक्तिले सोच्नुपर्ने विषय हो, हामीले भनेर हुने होइन । भन्न त हामीले पनि भन्यौँ । मानिसहरूले पनि भने । युवाले सडकमा उत्रिएरै भने । तर, सच्चिनुपर्ने भनिएका व्यक्तिलाई आफूले गल्ती गरेको महसुस नै नभएपछि सच्चिनु जरुरी ठानिने कुरै भएन । व्यक्तिको अहम् र सत्ताको लालसाले उनीहरूलाई भुइँतहमा भइरहेको परिवर्तनको चाहनालाई बुझ्न र त्यसलाई अनुभव या आत्मसात् गर्न दिँदैन । त्यसैको समष्टिगत परिणाम हो यो ।