सामुदायिक पुलिसिङमा उत्कृष्ट काम गरेबापत नेपाल प्रहरीले अमेरिकामा अवार्ड पाएको छ । अमेरिकाको ओरिजना स्टेट युनिभरर्सिटीको सेन्टर फर प्रब्लम ओटियन्टेड पुलिसिङले शुक्रबार हर्मन गोलस्टेन अवार्ड प्रदान गरेको हो ।
अमेरिकाको विस्कन्सिन राज्यको म्याडिसन सहरमा आयोजित ‘२०२५ प्रब्लम ओरियन्टेड पुलिसिङ कन्फरेन्स’मा नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमको माध्यमबाट महिला र बालिकाहरूको संरक्षणको सन्दर्भमा छाउपडी नियन्त्रणमा पुर्याएको योगदानलाई विश्वका उत्कृष्ट ६ वटा समस्या समाधानसम्बन्धी प्रहरी कार्यहरूमा मूल्यांकन गरी पुरस्कृत गरेको छ । विश्वभरिबाट मूल्यांकन गरी नेपाल प्रहरीसहित ६ निकाय पुरस्कृत भएका हुन् । सम्मेलनमा नेपाल प्रहरीका अधिकारीले कसरी छाउपडी प्रथा रोक्न प्रहरीको सो कार्यक्रम सफल भयो भनेर प्रस्तुतीकरण दिएका थिए । अछामको मार्खु गाउँमा छाउपडी रोक्न प्रहरीले गरेको कामबारे सो सम्मेलनमा प्रस्तुतीकरण गरिएको थियो। कार्यक्रममा नेपाल प्रहरीका डिएसपीद्वय किरणजंग कुँवर र ईश्वरीप्रसाद भण्डारी तथा इन्स्पेक्टर प्रतिमा कार्की सहभागी थिए ।

यो अवार्ड प्रब्लम ओरियन्टेड पुलिसिङका प्रतिपादक सुप्रसिद्ध अमेरिकन अपराधशास्त्री हर्मन गोल्डस्टेनको नाममा हरेक वर्ष आयोजना हुने गरेको छ । उनका सिद्धान्तहरू नेपाल प्रहरीमा पनि अध्ययन र अभ्यास हुने गरेका छन् ।