‘डिसहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’का लागि कथा आह्वान गरिएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले प्रतियोगिता घोषणासँगै कथा आह्वान गरेको हो।
प्रतियोगिताका लागि कात्तिक ३० गतेसम्म [email protected] मा इमेल गरेर कथा पठाउनुपर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको निर्णायक समूहमा नाट्यकर्मी तथा साहित्यकार अशेष मल्ल छन् भने सदस्यहरूमा वरिष्ठ कथाकार मञ्जु काँचुली र कथाकार अभय श्रेष्ठ छन्।
पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वको आन्तरिक समूहले प्राप्त कथामध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउनेछ ।
तीमध्ये निर्णायक समूहले प्रथम, द्वितीय र तृतीय कथाका साथै ‘उत्कृष्ट कथा, २०८२’ पुस्तकका लागि थप २२ समेत गरी २५ कथा छानेर पठाउनेछ। निर्णायक समूहको निर्णय नै अन्तिम मानिने आयोजकले जनाएको छ ।
अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ भने प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई यस वर्षदेखि क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपैयाँ नगद राशिकाे साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
संग्रहमा छापिने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ ।