भक्तपुर क्यान्सर अस्पतालमा पेलियटिभ सेवा विस्तारका लागि कोषको घोषणा

बिहिबार, ३० असोज, २०८२
डिजिटल संस्करण

भक्तपुर क्यान्सर अस्पतालले विश्व होस्पिस तथा पेलियटिभ केयर दिवस–२०२५ को अवसर पारेर पेलियटिभ हेरचाह कोष बनाउने घोषणा गरेको छ । ‘प्रतिज्ञा पूरा गरौँ - सबैलाई पेलियटिभ हेरचाहको पहुँच सुनिश्चित गरौँ’ भन्ने नारासहित एक विशेष कार्यक्रमबिच अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले सो घोषणा गरेका छन् ।

भक्तपुर क्यान्सर अस्पताल पेलियटिभ हेरचाह कोषमा सुरुवाती चरणमा लायन्स क्लब अफ बागमती क्यान्सर केयरले रु. एक लाख, डिके मेडिसेल्स प्रालिले रु. पाँच लाख, इस्टवेस्ट कन्सर्न प्रालिले रु. दुई लाख र उषा दीक्षितले व्यक्तिगत रूपमा रु. एक लाख योगदान गरेकाे डा. चालिसेले जनाएका छन् । कोष वृद्धि गर्ने योजना सार्वजनिक गर्दै उनले कोषबाट पेलियटिभ सेवाको पहुँच र निःशुल्क सेवा विस्तार गरिने बताए ।

जीवनको अन्तिम क्षणमा माया, सहानुभूति र सम्मानसहित पीडारहित जीवन प्रदान गर्न सहयोग पुर्याउने पेलियटिभ केयर उपचार मात्र नभई सामाजिक र नैतिक जिम्मेवारी पनि भएको अस्पतालका पेलियटिभ विशेषज्ञ डा. विकासानन्दले बताए ।

अस्पतालले विगत दुई वर्षदेखि होम भिजिट कार्यक्रम चलाएको जीवनको अन्तिम अवस्थामा रहेका क्यान्सर रोगीहरूलाई विशेषज्ञ चिकित्सकहरूले घरमै गएर सेवा प्रदान गरिरहेका उनले जानकारी दिए । ‘हामी बर्सेनि करिब दुई हजारजनालाई पेलियटिभ सेवा दिइरहेका छाैँ,’ डा. विकासानन्दले भने, ‘हामी वार्डमा साँघुरिएर होइन, आरामगृहबाट सेवा प्रवाह चाहन्छौँ ।’

कार्यक्रममा विशेष अतिथि रहेकी मिस नेपाल– २०२५ लुना लुइँटेलले पेलियटिभ केयरलाई उपचार मात्र नभई मानवीय मूल्य र करुणासँग जोडिएको सेवा भएको बताइन् । बिरामीलाई  अन्तिम दिनसम्म सम्मान र सहजतापूर्वक बाँच्न सहयोग पुर्याउनु परिवार, समाज र राष्ट्रको कर्तव्य भएको उनको भनाइ छ ।

भक्तपुर क्यान्सर अस्पतालले भने पेलियटिभ सेवालाई एउटा वार्डमा सीमित नगरी आरामगृह बनाउने लक्ष लिएको बताइएको छ ।

सुझावित समाचार