रोल्पामा क्रियाशील नमस्ते आशीर्वाद यातायात सेवा प्रालिले रात्रिसेवाका लागि ‘युद्धभूमि’ नामक ‘सिल्पर एसी बस’ सञ्चालनमा ल्याएको छ । बुधबार रोल्पाको लिवाङमा लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले उक्त सेवाको उद्घाटन गरे ।
यातायात क्षेत्रको तीव्र प्रतिस्पर्धालाई मध्यनजर गर्दै व्यावसायिक सेवा विस्तार गरेको प्रालिका अध्यक्ष निर्मल कामीले जानकारी दिए। रोल्पा–काठमाडौं रात्रिबस सेवाका लागि अहिले सोफासहितका चारवटा एसी बस सञ्चालनमा ल्याइएको र निकट भविष्यमा अन्य बस थप गर्ने योजना रहेको अध्यक्ष निर्मलको भनाइ छ । प्रालिले डिलक्स बस सेवामार्फत नियमित सेवा दिइरहेको थियो ।
यता रोल्पा जलजला यातायात प्रालिले पनि सिल्पर एसी बस सञ्चालन गरेको जनाएको छ । प्रालिका अनुसार पुराना डिलक्स बस विस्थापित गर्दै नयाँ एसी बस थप्ने कार्य भइरहेको बताएको छ । रोल्पामा मात्रै हाल तीन सयभन्दा बढी यात्रुवाहक यातायातका साधन सञ्चालनमा छन् ।