दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले स्वीकृत दरबन्दीबाहेकमा अस्थायी नियुक्ति भएका/गरिएका सबै कर्मचारी तथा शिक्षक हटाउने भएको छ । नगर कार्यपालिकाको यही असोज २८ गते बसेको पूर्ण बैठकले नगरपालिकामा यसअघि करार सेवामा नियुक्त भएका कर्मचारी, दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरू (सचिवालयका)समेत तथा नगरपालिकाको अनुदानमा नियुक्त भएका शिक्षकहरूलाई आगामी कातिक १ गतेदेखि लागू हुने गरी हटाउने निर्णय गरेको हो ।
नेपाल सरकार (मन्त्रिपरिषद्)बाट असोज ५ गते निर्णय भएर आएको परिपत्रको आधारमा स्वीकृत दरबन्दीबाहेकमा अस्थायी नियुक्ति गरिएका सबै कर्मचारी तथा शिक्षक हटाउने निर्णय गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिएका छन् । ‘स्वीकृत दरबन्दीबाहेकमा अस्थायी, करार तथा ज्यालादारीमा कर्मचारी एवं शिक्षक नराख्ने निर्णय कार्यपालिका बैठकबाट पारित गरिएको छ। नगरस्तरीय तथा वडास्तरबाट विनियोजन गरिएका बजेटबाट पारिश्रमिक भुक्तानी लिनेहरू रहन्छन्,’ उनले भने, ‘कार्यपालिकाको निर्णयलगत्तै अस्थायी नियुक्ति लिएर काम गरिरहेका कर्मचारी तथा शिक्षकको विवरण संकलन सुरु गरिएको छ । उहाँहरूलाई आगामी कातिक १ गतेबाट लागू हुने गरी स–सम्मानपूर्वक बिदाइ गर्ने निर्णय गरेका छौँ ।’
कार्यपालिका बैठकले सार्वजनिक खरिदसम्बन्धी बैठकबाहेक अन्य सबै किसिमका बैठक भत्ता हटाउने, नयाँ सवारीसाधन खरिद नगर्ने, बेरुजु फर्स्याेट प्रक्रिया अगाडि बढाउने, निर्माण कार्यको कन्टिन्जेन्सी रकमको सीमा तीन प्रतिशत कायम गर्ने, नागरिकको आन्तरिक आम्दानीको स्रोत वृद्धि गर्न पुराना घरहरूको अभिलेखीकरण गर्ने निर्णय गरेको छ ।
यस्तै, आगामी कातिक २० गतेभित्र सबै कार्यपालिका सदस्यहरूले आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने, पूर्वजनप्रतिनिधिहरूलाई समेत आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न अनुरोध गर्ने, नगरपालिकाभित्र संघ, प्रदेश तथा विभिन्न कार्यालयबाट दश वर्षभित्र सञ्चालन भएका बजेट, कामको विवरण तथा काम गर्ने संस्था एवं उपभोक्ता समितिका पदाधिकारीको विवरण संकलन गर्ने निर्णय गरिएको मंगलबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
दिक्तेल बजारमा यसअघि मापदण्डविपरीत निर्माण गरिएका स्पिड ब्रेकर (गति निर्धारण)को स्तरोन्नति गर्ने, विद्यालयहरूमा अक्षयकोष स्थापना र सञ्चालनसम्बन्धी कार्यविधि २०८२ स्वीकृत गर्ने, नगरपालिकाभित्र सञ्चालित विद्यालयहरूमा खानेपानी फिल्टर (शुद्धीकरण)गरी विद्यार्थी तथा शिक्षकहरूलाई स्वच्छ खानेपानी उपलबध गराउने निर्णय गरेको छ। यस्तै, दिक्तेल बजारमा निर्माणाधीन ५० शय्याको अस्पताल भवनमा ठेकेदारको लापरबाही देखिएको भन्दै कानुनी कारबाही अगाडि बढाउने निर्णय गरिएको नगरप्रमुख भट्टराई पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।
नगरपालिकाले यही भदौ २३ र २४ गते जेन–जी पुस्ताले गरेको आन्दोलनमा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा परेका परिवारलाई समवेदना दिने तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। बैठकमा जेन–जी पुस्ताले उठाएका सकारात्मक मागलाई सम्मान गर्दै नगरपालिका तथा मातहतका सबै कार्यालयबाट हुने सेवा प्रवाह एवं कार्यसम्पादनमा सुधार गर्ने निर्णय गरिएको नगरप्रवक्ता एवं वडा नं. ५ लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरेले जानकारी दिए ।
नगर प्रमुख भट्टराईको कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा नगर उपप्रमुख विशन राई, वडा नं. १ दिक्तेलका वडाध्यक्ष नवराज राई, कार्यपालिका सदस्यहरू अञ्जना केसी (बस्नेत), मीना कार्की, धनशोभा राईलगायतको उपस्थिति रहेको थियो । जेन–जी आन्दोलनपछि पहिलोपटक बसेको कार्यपालिकाको बैठकले पारित गरेको नौबुँदे निर्णय नगरपालिकाले औपचारिक रूपमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।