काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले किसानलाई लक्षित गरी सामाजिक सञ्जालमा प्रयोग गरेको अभिव्यक्तिप्रति अखिल नेपाल किसान महासंघले कडा आपत्ति जनाएको छ । मेयर बालेनले सोमबार आफ्नो फेसबुक स्टाटसमा ‘किसानझैँ फोहाेर’ भन्ने वाक्यांश प्रयोग गरेपछि त्यसको व्यापक आलोचना हुन थालेको छ । उक्त अभिव्यक्तिलाई किसान समुदायमाथिको अपमानको रूपमा लिँदै महासंघले तत्काल स्टाटस हटाई सार्वजनिक माफी माग्न माग गरेको छ ।
महासंघका अध्यक्ष डा. प्रेम दंगालले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ, ‘मुलुकको प्रमुख उत्पादन शक्ति र अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेका किसान समुदायलाई अपमानजनक शब्द प्रयोग गरेर होच्याउने कार्य अत्यन्तै निन्दनीय छ । यस्तो अभिव्यक्ति किसान मात्र होइन, सम्पूर्ण श्रमजीवी वर्गमाथिकाे प्रहार हो ।’
महासंघले बालेन शाहजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिबाट यस्तो गैरजिम्मेवार र विभाजनकारी टिप्पणी आउनु दुःखद भएको जनाएको छ । ‘राज्यका सबै संरचनाहरूले किसानप्रति सम्मान र समर्थनको भावना राख्नुपर्ने वेला महानगर प्रमुखकै तर्फबाट अपमानजनक अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण छ,’ विज्ञप्तिमा उल्लेख छ।
महासंघले मेयर शाहले आफ्नो उक्त स्टाटस हटाएर सार्वजनिक रूपमा माफी नमागे किसान समुदाय सडक आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । विज्ञप्तिमा खगाडि भनिएकाे छ, ‘हामी किसानकाे सम्मान र अधिकारका विषयमा कुनै सम्झौता गर्ने पक्षमा छैनौँ । यदि तिनका भावनामा चोट पुर्याउने अभिव्यक्ति फिर्ता लिएर माफी मागिएन भने अखिल नेपाल किसान महासंघले चरणबद्ध विरोधका कार्यक्रम घोषणा गर्नेछ ।’
यसैबिच, सामाजिक सञ्जालमा पनि मेयरको उक्त स्टाटसलाई लिएर व्यापक विवाद चुलिएको छ । धेरै प्रयोगकर्ताहरूले बालेनको अभिव्यक्तिलाई अभिमानी र किसानविरोधी भन्दै आलोचना गरेका छन् ।
