विपिन जीवितै फर्किने सिंगो नेपालको आशा निराशामा अन्त्य

हमासले विपिनसहितको भनेर चार शव बाकसमा प्याक गरेर इजरायललाई बुझायो

मंगलबार, २८ असोज, २०८२
डिजिटल संस्करण
विपिन जीवितै फर्किने सिंगो नेपालको आशा निराशामा अन्त्य

कञ्चनपुरका विपिन जोशी

दुई वर्षअघि युद्धका क्रममै मारिएका थिए विपिनसँगै इजरायल गएका १० नेपाली विद्यार्थी

दुई वर्षअघि प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा परेका कञ्चनपुरका विपिन जोशी जीवितै फर्किने सिंगो नेपालको आशा अन्तत: निराशामा अन्त्य भएको छ । २३ असोज ०८० मा हमासले कब्जामा लिएको विपिन दुई वर्ष चार दिनपछि सोमबार कफिन (शव राख्ने बाकस)मा इजरायल फर्काइएका हुन् ।

हमासले सोमबारै २० जीवित इजरायली युद्धबन्दीलाई गाजापट्टीबाट मुक्त गर्‍यो । तर, उनीहरूसँगै बन्दी बनाइएका विपिन र तीन इजरायलीको भनेर चार शव पठाएको छ । हमास समूहले विपिनसहित चारजनाको शव दक्षिणी गाजा क्षेत्रबाट रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी)मार्फत इजरायली सेनालाई बुझाएको हो । इजरायली सैनिक अस्पतालमा डिएनए परीक्षणपछि मात्रै शव पुष्टि हुने बताइएको छ ।

‘हमास समूहले विपिनसहित चारजनाको शव भनेर हस्तान्तरण गरेको छ । रेडक्रसमार्फत शव इजरायली सेनाले लगेर डिएनए परीक्षण गर्छ, त्यसपछि मात्रै उनको भए–नभएको पुष्टि हुनेछ,’ इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले टेलिफोनमा भने, ‘अहिले हमासको जानकारीका आधारमा विपिनको शव भेटिएको भन्ने हो । तर, यसको पुष्टि भने डिएनए परीक्षणपछि मात्रै हुन्छ भन्ने जानकारी आएको छ ।’

इजरायल र हमासबिच २३ असोजमा भएको युद्धविरामपछि विपिन फर्कने आशा जागेको थियो । तर, सोमबार बिहान २० जीवित युद्धबन्दी इजरायलको जिम्मा लगाउँदा हमासले नेपाली युवा विपिन जीवित नरहेको सूचना दिएको थियो । इजरायली अधिकारीहरूले राजदूत पण्डितको उपस्थितिमा हमासको सूचना विपिनका परिवारजनलाई भिडियो बैठकमार्फत जानकारी गराएका थिए । अमेरिकामा रहेका विपिनका आमा पद्मा र बहिनी पुष्पा तथा नेपालमा रहेका दाइ (ठुलोबुबाका छोरा) किशोरलाई उनको मृत शरीर पाउने विषय पनि अनिश्चित रहेको जानकारी गराएको थियो । तर, सोमबारै बेलुका विपिनको शव भनेर इजरायललाई बुझाएको हो । यद्यपि, विपिनको मृत्यु कहिले भएको भन्नेबारे केही खुलेको छैन ।

हमासले भाइको शव इजरायललाई बुझाएको विषयमा राति अबेरसम्म दूतावासबाट कुनै जानकारी नआएको बताए । ‘भाइ विपिन नरहेको भनेर अपत्यारिलो र दु:खद खबर आएको छ । तर, दूतावासबाट आधिकारिक सूचना आइसकेको छैन । भाइको श्वास वा लास प्राप्त नहुन्जेल कसरी विश्वास गर्नु र ?’ उनले भने, ‘आन्टी र बहिनी अमेरिकामा हुनुहुन्छ, उहाँहरू नेपाल आउनेबारे छलफल भइरहेको छ ।’ 

इजरायलस्थित नेपालका अवैतनिक महावाणिज्यदूत नद्दाब बेन यहुदा (जो इजरायली सेनामा पनि कार्यरत छन्)ले नेपाली राजदूत पण्डित र नियोग उपप्रमुख कुमार श्रेष्ठलाई जोशीको शव भेटिएकोबारे जानकारी दिएका थिए । ‘इजरायली अधिकारीहरूले विपिनको परिवारलाई पनि जानकारी गराइसकेको बुझेको छु,’ राजदूत पण्डितले भने । 

उनीसँगै शव फिर्ता गरिएका इजरायली नागरिकहरू गाई इलयगश, योसी शाराबी र डानिएल पेरेत्जको मृत्युबारे भने पहिले नै जानकारी थियो । विपिनको अवस्था भने सोमबार अबेरसम्म पनि अज्ञात थियो । 

आइडिएफ (इजरायली डिफेन्स फोर्स)का प्रमुख प्रवक्ता ब्रिगेडियर जनरल एफ्फी डेफ्रिनलाई उद्धृत गर्दै टाइम्स अफ इजरायल र जेरुसेलम पोस्टले प्रकाशन गरेको समाचारअनुसार हमासले रेडक्रसका प्रतिनिधिलाई चारवटा बेग्लाबेग्लै कफिन (शव राखिएको बाकस) बुझाएको छ । 

‘पछिल्लो जानकारीका सन्दर्भमा इजरायली अधिकारीहरूसँग थप विवरणका लागि सम्पर्कमा रहन निर्देशन दिइएको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने । 

मध्यपूर्वको शान्ति योजना कार्यान्वयन गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैँ इजरायल गएका थिए । ट्रम्पको प्रस्तावित ‘मध्यपूर्व शान्ति योजना’को प्रथम चरणअन्तर्गत सोमबार हमासले उसको नियन्त्रणमा रहेका जीवित २० इजरायली र इजरायलले १७ सय १८ प्यालेस्टाइनी बन्दीलाई रिहा गरेका छन् । अब हमासको कब्जामा जीवित युद्धबन्दी बाँकी नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

परराष्ट्र मन्त्रालयले सोमबार साँझ विज्ञप्ति जारी गर्दै विपिनको अवस्था अज्ञात रहेको उल्लेख गरेको थियो । तर, त्यसको केही समयपछि हमासले विपीनको शव इजरायललाई बुझाएको सूचना आएको थियो । बिपिनको सकुशल रिहाइका लागि सरकारले दुई बर्षयता यथासम्भव सबै प्रयासहरू गरेको पनि परराष्ट्रले जनाएको छ । 

इजरायलमा २३ असोज ०८० मा हमासले गरेको हमलामा १० नेपाली विद्यार्थी मारिएका थिए । सीमावर्ती आलुमिम किबुज क्षेत्रबाट बिपिनलाई हतियारधारी हमास समूहले अपहरण गरेर लगेका थिए । शुरुमा गाजाको अस्पतालको भिडियो फुटेजमा विपीन देखिएका थिए । मंसिरमा हमासको कब्जामा रहेका बेला हमास समूहले खिचेको भिडियो केही दिनअघि मात्रै सार्वजनिक भएको थियो । इजरायली विदेश मन्त्रालयको दक्षिण र पूर्वी एशिया व्यूरो प्रमुख सगी करनीले १९ साउनमा जेरुसेलममा नेपाली पत्रकारसँग विपीन जीवित रहेको अनुमान मात्रै रहेको तर दुई वर्षदेखि जानकारी नभएको बताएका थिए ।

इजरायल सरकारले साउन अन्तिम साता विपीनका आमा पद्मा र बहिनी पुष्पालाई इजरायल भ्रमण गराएको थियो । विपीन अपहरणमा परेको किबुज आलुमिम क्षेत्रको भ्रमणसहित राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, परराष्ट्रमन्त्री, सेनाप्रमुखसहितका उच्च अधिकारीसँग परिवारजनले भेट गरेका थिए । सबै भेटमा उनीहरूले बिपिन जीवित रहेको अनुमान रहेको तर उनका बारेमा अवस्था यकिन नभएको बताएका थिए । 

बिपिनकी आमा र बहिनी ७ असोजदेखि अमेरिकामा छन् । इजरायल सरकारको सहयोगमा उनीहरू विपीनलाई मुक्त गराउने कूटनीतिक दबाबका लागि अमेरिका गएका थिए । विपीनको शव पुष्टि भएपछि उनीहरू स्वदेश फर्किने पारिवारिक श्रोतले जनाएको छ । 

दुई वर्षअघि युद्धका क्रममै मारिएका थिए विपिनसँगै इजरायल गएका १० विद्यार्थी
भीमदत्त नगरपालिका– ३, कञ्चनपुरका विपिन सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसबाट बिएस्सी एग्रिकल्चर अध्ययन गरेर ‘लर्न एन्ड अर्न’ अर्थात् सिक्दै, कमाउँदै कार्यक्रममार्फत २७ भदौ ०८० मा मा इजरायल गएका थिए । एक महिना नपुग्दै २३ असोजमा उनी इजरायलको तेलअभिभबाट करिब ८५ किलोमिटर दक्षिणमा रहेको आलुमिमबाट हमासको कब्जामा परेका थिए । हमास र इजरायलको युद्धमा परेर विपिनसँगै त्यहाँ पुगेका १० विद्यार्थीको त्यतिवेलै मृत्यु भएको थियो । घोडाघोडी– ४, कैलालीका नारायणप्रसाद न्यौपाने, जयपृथ्वी– ६, बझाङका गणेशकुमार नेपाली, बौनियाँ– ३, कैलालीका आशिष चौधरी, लेकम– ५, दार्चुलाका दीपेशराज विष्ट, पचनाली– ३, डोटीका राजन फुलारा, लामिखाल– ८, डोटीका पदम थापा, शारदा– ३, सल्यानका प्रवेश भण्डारी, मालिकार्जुन– ४, दार्चुलाका लोकेन्द्रसिंह धामी, सपही– ६, धनुषाका आनन्द साह र मधुवन– १, सुनसरीका राजेशकुमार स्वर्णकारको मृत्यु भएको थियो । विपिनसहित कुल ४९ विद्यार्थी ‘लर्न एन्ड अर्न’ अन्तर्गत इजरायल गएका थिए । ७ अक्टोबर ०२३ मा सुरु हमास–इजरायल युद्धमा जोगिएका र मृतकहरूको भारतीय सरकारको सहयोगमा उद्धार भएको थियो । 

खुलेको छैन, कहिले मारिएका थिए विपिन ?
इजरायल र हमासबिच २३ असोजमा भएको युद्धविरामपछि विपिन फर्कने आशा जागेको थियो । तर, सोमबार बिहान २० जीवित युद्धबन्दी इजरायलको जिम्मा लगाउँदा हमासले नेपाली युवा विपिन जीवित नरहेको सूचना दिएको थियो । इजरायली अधिकारीहरूले राजदूत पण्डितको उपस्थितिमा हमासको सूचना विपिनका परिवारजनलाई भिडियो बैठकमार्फत जानकारी गराएका थिए । अमेरिकामा रहेका विपिनका आमा पद्मा र बहिनी पुष्पा तथा नेपालमा रहेका दाइ (ठुलोबुबाका छोरा) किशोरलाई उनको मृत शरीर पाउने विषय पनि अनिश्चित रहेको जानकारी गराएको थियो । तर, सोमबारै बेलुका विपिनको शव भनेर इजरायललाई बुझाएको हो । यद्यपि, विपिनको मृत्यु कहिले भएको भन्नेबारे केही खुलेको छैन ।

सुझावित समाचार