सिराहा प्रहरीले स्रोत नखुलेको आठ लाख २५ हजार रुपैयाँ, एटिएम कार्ड, विभिन्न बैंकका चेकबुक र कपाली तमसुकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार सिराहा नगरपालिका– २०, लगडिगदियानीस्थित प्रहरी चौकीबाट गस्तीमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका सिराहाको कल्याणपुर नगरपालिका– १, बनिनियाँका करिब ३० वर्षीय राशिन्द्र मण्डललाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो।
पक्राउ परेका मण्डलको साथबाट नेपाली मुद्रा आठ लाख २५ हजार रुपैयाँ, दुई थान कपाली तमसुक, आरुष रेमिट्यान्सको एक थान स्ट्याम्प, विभिन्न बैंकका पाँच–पाँच थान एटिएम र चेकबुक बरामद भएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।
उनका अनुसार म.प्र.०२–०१–००३ प २१०२ नम्बरको मोटरसाइकल चढेर आइतबार राति करिब नाै बजेतिर नेपाल प्रवेश गरेका मण्डललाई प्रहरीले शंका लागेर चेकजाँच गर्दा स्रोत नखुलेको रकम र अन्य सामग्री बरामद भएपछि तत्काल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ल्याएर थप अनुसन्धान भइरहेको छ।