बर्दियामा एकै वर्ष १४ हजारभन्दा बढी रुख कटान, बासस्थान विनाशपछि मानवबस्ती पस्न थाले चितुवा

आइतबार, २६ असोज, २०८२
डिजिटल संस्करण

बर्दियामा दिगो वन व्यवस्थापनको नाममा भइरहेको रुख कटानले चितुवा आक्रमणका घटना बढ्दै गएको छ । वन्यजन्तुको प्राकृतिक बासस्थान विनाश भएसँगै चितुवा मानवबस्ती नजिक बस्ने र मानिसलाई आक्रमण गर्ने घटना बढ्दै गइरहेको हो । 

डिभिजन वन कार्यालयले दिगो वन व्यवस्थापन गर्न भन्दै एक वर्षमा १४ हजार ६ सय रुख कटान गरेको छ । वन कार्यालयअन्तर्गत पर्ने २४१ सामुदायिक वनमध्ये आर्थिक वर्ष २०८१/०८२ मा बनेका १३६ सामुदायिक कार्ययोजना स्वीकृत गरेर १४ हजार ६ सय रूख कटान गरेको छ । 

यसरी एकैपटक हजारौँ रूख कटान गर्दा प्राकृतिक बासस्थान विनाश भएको छ । जसले गर्दा चितुवा मानिस बस्ती नजिक बस्ने र मानिस, घरपालुवा जनावरलाई आक्रमण गर्न थालेको छ । यसअघि कहिल्यै चितुवा नदेखिएको ठाँउमा समेत चितुवा देखिन थालेका छन् । चितुवाको आक्रमणको घटना समेत बढ्न थालेको छ । चितुवाको आक्रमणबाट सर्वसाधारणको ज्यान जाने, घाइते हुने क्रम निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सबैभन्दा बढी भइरहेको छ । 

शनिबार साँझ ५ बजे गुलरिया नगरपालिका–१० रत्नापुरकी ४० वर्षीया किरणकुमारी लोधलाई खेतमा काम गरिरहेको समयमा चितुवाले आक्रमण गरी घाइते बनाएको छ । घाइते लोधको स्वास्थ्य उपचार बर्दिया अस्पताल गुलरियामा भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक भुपेन्द्र शाहीले  जानकारी दिए । शुक्रबार बारबर्दिया नगरपालिका–११ डफैयाकी ४५ वर्षीया जुना चौधरीलाई धान काटिरहेको वेला चितुवाले आक्रमण गरेको थियो । घाइतेको स्वास्थ्य उपचार कोहलपुर मेडिकल कलेज कोहलपुरमा भएको थियो । 

चालु आर्थिक वर्ष ०८२/०८३ मा चितुवाको आक्रमणबाट दुईजनाको मृत्यु र चारजना घाइते भएको डिभिजन वन कार्यालय बर्दियाका सिनियर वनअधिकृत शिवबहादुर केसीले बताए । 

आर्थिक वर्ष ०८१/०८२ मा चारजना मृत्यु र १३ जना घाइते र आर्थिक वर्ष ०८०/०८१ एकजनाको मृत्यु र तीनजना घाइते भएको थिए । आर्थिक वर्ष ०७८/०७९ मा एकजनाको मृत्यु र चारजना घाइते भएको डिभिजन वन कार्यालयको तथ्याङ्क छ ।

गुलरिया नगरपालिका–१२ का २८ वर्षीय भुपेन्द्र बिसीले कार्यालय प्रमुखको नम्बरमा फोन गर्दा कार्यालयका अन्य कर्मचारीले उठाउने गरेको बताए । उनले भने, ‘हाम्रै वडामा पनि चितुवाको आक्रमणबाट दुईजनाको मृत्यु भयो । चितुवा आक्रमणबाट मृत्यु भएलगत्तै कार्यालय प्रमुखको नम्बरमा फोन गर्दा कार्यालय प्रमुखको नम्बर कार्यालयका अन्य कर्मचारीले उठाए । कार्यालय प्रमुखलाई दिनुभन्दा ‘कार्यालय प्रमुखसँग यो नम्बर छैन् भने,’ जवाफ आयो ।

सरकारले कार्यालय प्रयोजनका लागि कार्यालय प्रमुखलाई दिएको मोबाइल नम्बर ९८५८०२६६७७ कार्यालय प्रमुख विजयराज सुवेदी नबोकेर कार्यालयमा रहेको शसस्त्र वन सुरक्षा शाखामा दिएका छन् । जिल्लामा रहेका अन्य कार्यालयले कार्यालय प्रमुखलाई दिएको मोबाइल आफैले बोके पनि डिभिजन कार्यालयमा प्रमुखले भने कार्यालयको नम्बर समेत अरुलाई दिने गरेको छन् । 

कार्यालय प्रमुखले दिगो वनका लागि वन व्यवस्थापनका कार्ययोजना बनाउने काममा चासो दिए पनि अन्य काममा भने खासै चासो दिएको आरोप छ । कार्यालय प्रमुख भएर आएको एक वर्ष नपुग्दै १३६ सामुदायिक वनको कार्ययोजना स्वीकृत गर्न सफल भएपनि मानव वन्यजन्तु द्वन्द रोकथामका लागि सचेतना मूलक कार्यक्रम गर्न चासो नदेखाएको आरोप छ । 

सुझावित समाचार