मतदान गर्न आग्रह गर्दै मिराज ढुंगानाले भने– अन्यथा परिवर्तनको आशा मारे हुन्छ

आइतबार, २६ असोज, २०८२
डिजिटल संस्करण

जेन–जी अगुवा मीराज ढुंगानाले परिवर्तनको लागि सुनौलो अवसर आएको भन्दै मतदानमा सहभागी हुन सबैलाई आग्रह गरेका छन्।

आइतबार पत्रकार सम्मेलन गर्दै ढुंगानाले निर्वाचनको प्रचारप्रसारमा जोड दिन सरकार र निर्वाचन आयोगलाई आग्रह गरे। अहिले उचित कदम नचाले अर्को क्रान्ति आउनु अघि देश रहन्छ वा रहँदैन भन्न नसकिने उनको भनाइ छ।

‘धेरैभन्दा धेरै भोटर्स (मतदाता) यो निर्वाचनमा मत खसाल्न आउनुपर्यो । यो बदलाब कसैले कल्पना नगरेको सुनौलो अवसर हो । अहिले भोट हालेनौँ भने छोडिदिए हुन्छ, आशै मारिदिए हुन्छ । आजै हो देश बचाउन मिल्ने, अर्को क्रान्ति आउनुभन्दा अघि देश रहला नरहला थाहा छैन,’ उनले भने।

झण्डै ८० लाख युवा विदेशमा रहेको दाबी गर्दै ढुंगानाले उनीहरुको मताधिकारसमेत सुनिश्चित गर्नुपर्ने प्रष्ट पारे। उनले भने, ‘विदेशमा भएका डायस्पोरा नेपालीको भोट हाल्ने अधिकार सुनिश्चित गरिएन भने यो ठूलो हेलचेक्रयाइँ हो, जनताको ठूलो बेइज्जत हो।’

निर्वाचनमा मतदाता प्रभावित पार्ने, मतपेटिका बोकेर हिँड्नेजस्ता धाँधलीपूर्ण कार्य हुने गरेको भन्दै ढुंगानाले यसलाई रोक्ने निर्वाचन आयोग र सरकारको योजनाबारे जवाफ मागे।

सुझावित समाचार