पर्साका १४ वटै स्थानीय तहमा हैजाविरुद्धको खोप कार्यक्रम आजदेखि सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालयमा औपचारिक रूपमा प्रमुख जिल्ला अधिकारीसहित उच्चपदस्थ सरकारी अधिकारीहरूसमेत गरी करिब २५० जनाले खोप लिएर कार्यक्रम उद्घाटन भएको हो।
जिल्लामा हैजा संक्रमण देखिएको करिब डेढ महिनापछि हैजाविरुद्धको खोप कार्यक्रम सञ्चालनमा आएको हो। हैजा रोगको महामारीविरुद्ध प्रतिकार्य खोप अभियान सञ्चालनबारे जिल्लास्तरीय सरोकारवालाको अभिमुखीकरण कार्यक्रमपश्चात् खोप अभियान सञ्चालनमा आएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले जानकारी दिए।
आजदेखि कात्तिक २ सम्म जिल्लाका १४ वटै स्थानीय तहमा एकैसाथ यो कार्यक्रम सञ्चालन गरिने ठाकुरले बताए। साथै पर्सासँग जोडिएको बाराका कलैया र जितपुरसिमरा उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिका गरी आधा दर्जन स्थानीय तहमा पनि यो कार्यक्रम सञ्चालन हुनेछ।
विश्व स्वास्थ्य संगठनको नेपालका चिकित्सक डा. पवन उपाध्यायले विश्व स्वास्थ्य संगठनले जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा यो अभियान सञ्चालन गर्न लागेको बताए। मुखबाट सेवन गरेर लिन सकिने यो खोप एक वर्षसम्म ८० प्रतिशतसम्म प्रभावकारी हुने बताउँदै उनले एक वर्षदेखि माथि उमेरका सबैले यो खोप लिन सक्ने प्रस्ट पारे। पर्सामा ६ लाख ५२ हजार १२९ जनालाई यो खोप दिने लक्ष्य रहेको उनले बताए।
तोकिएका केन्द्रहरू र घरभेट कार्यक्रमबाट पनि यो खोप लिने सकिने बताउँदै ठाकुरले यो खोप सुरक्षित रहेको दाबी पनि गरे। भारतबाट नेपाल प्रवेश गर्नेहरूलाई, अदालत आदि सरकारी कार्यालयमा आउने सेवाग्राही, बसपार्कमा भेटिने यात्रुहरूलाई पनि यो खोप दिने लक्ष्य रहेको उनले बताए।