नेपालमा दिगो विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धन गरिने भएको छ । यसका लागि कुमारी बैंक लिमिटेड र जिआइजेड नेपाल संस्थाबिच सम्झौता भएको छ । यो सम्झौता ‘नेपालका लागि दिगो विद्युतीय सार्वजनिक यातायात’ (सेट अफर नेपाल) परियोजनाअन्तर्गत भएको बताइएको छ । यो सहकार्यले सार्वजनिक यातायात सञ्चालकहरूलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउनेछ ।
साथै, परियोजनाले सार्वजनिक यातायात व्यवसाय गर्नेहरूलाई विद्युतीय माइक्रो र मिनीबस प्रयोग गर्न सहज बनाउनेछ । यसका लागि कुमारी बैंकले विशेष वित्तीय योजना र प्रारम्भिक डाउन पेमेन्ट अनुदानको व्यवस्था गर्नेछ, जसले गर्दा सवारी खरिदको लागत कम हुनेछ र यसलाई आर्थिक रूपमा पनि सहज बनाउने बताइएको छ ।
विद्युतीय सार्वजनिक यातायात विशेष गरी विद्युतीय माइक्रो तथा मिनीबसको स्वीकृति र सञ्चालनलाई तीव्र बनाउन लक्षित वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई सहयोग पुर्याउने विश्वास गरिएको छ । यो परियोजना न्यूनीकरण कार्य सुविधा (एमएएफ)को आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ । कार्यक्रमले करिब तीन हजार पाँच सय विद्युतीय मिनीबस सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । जसले नेपालको सार्वजनिक यातायात प्रणालीलाई थप सफा, हरित र दिगो बनाउन योगदान पुर्याउने बताइएको छ ।
बैंकले देशभर रहेका तीन सय दुई शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ इकाइ तथा तीन सय १७ एटिएममार्फत सेवा दिइरहेको छ ।