अस्पताल प्रशासनले सहमति पालना नगरेपछि मणिपालका नर्सहरू पुन: आन्दोलित भएका छन् । आफूहरूको श्रमशोषण गरेको भन्दै १९ असोजबाट आन्दोलित नर्सहरूलाई अस्पताल प्रशासनले एक साताभित्र माग पूरा गर्ने सहमति गरेको थियो । तर, दिएको समय शुक्रबार सकिएको र मागबारे कुनै सुनुवाइ नभएपछि नर्सहरू शनिबारदेखि पुन: आन्दोलित भएका हुन् ।
अस्पतालले नर्सलाई मासिक १५ हजार रुपैयाँमा काममा लगाएपछि त्यसबाट घर नचल्ने भन्दै आन्दोलित भएका हुन् । अस्पतालमा तीन सय नर्स कार्यरत छन् । एक साताअघि आफ्नो काम जारी राख्दै आन्दोलन गरेका नर्सले यसपटक काम छाडेर आन्दोलन गरेपछि भर्ना भएका सम्पूर्ण बिरामीलाई डिस्चार्ज गरी अन्य अस्पतालमा पठाइएको छ ।
नर्सहरूले ‘१५ हजारको कामले घर चल्दैन’, ‘हामीलाई न्याय दे,’ ‘श्रमशोषण बन्द गर,’ ‘हामी मेसिन होइनौँ, नर्स हौँ,’ ‘अब त अति भयो,’ ‘नो पे नो वर्क’लगायतका नारासँगै प्लेकार्ड बोकेका थिए । सरकारले श्रमिकका लागि तोकेको न्यूनतम पारिश्रमिक १९ हजार तीन सय रुपैयाँसमेत नपाएको, यसअघि रहेको सात घण्टाको समय बढाएर काम गर्ने समय आठ घण्टा बनाइएको, वार्षिक रूपमा पाउँदै आएको चाडपर्व बिदा, घरबिदा, बिरामी बिदालगायतका अन्य बिदा कटौती गरिएको भन्दै अस्पतालमा कार्यरत नर्स आन्दोलित भएका हुन् ।
श्रमिकहरूको पाउने न्यूनतम पारिश्रमिक नदिएको, कार्यसमय बढाएको, बिदा कटौती गरेपछि नर्स मर्कामा परेको भन्दै यस सम्बन्धमा अस्पताल प्रशासनलाई पटक–पटक माग सम्बोधन गर्न र एक साताअघि एक साताभित्र माग सम्बोधन गर्ने भनी सहमति गरे पनि कार्यान्वयन नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको नर्सहरूको भनाइ छ ।
यसअघि तलब वृद्धि सम्बन्धमा तत्काल माथिल्लो निकाय सिइओसँग छलफल गरी निर्णय गर्ने, विशेष क्षमता भएका नर्सहरूको विशेष कार्य दक्षताका आधारमा तलब तथा सुविधा आवश्यक छलफल गरी निर्धारण गर्ने, प्रत्येक महिनाको ५ गते तलब दिने, ओभरटाइम सम्बन्धमा सट्टा बिदा दिँदै आएकोमा बिदाको साटो पैसा दिने सम्बन्धमा छलफल गरी निर्णय गर्ने, तालिमबापत पाउँदै आएको सुविधा कसैले नपाएको भए मानव स्रोत विभागमा सम्पर्क गर्ने, नर्स र बिरामीको अनुपातका सम्बन्धमा तीन महिनाभित्र समाधान हुने गरी आवश्यक कार्य गर्ने, कर्मचारी कल्याण तथा प्रोत्साहन सम्बन्धमा पर्फर्मेन्सअनुसार गर्ने, ६ घण्टे ड्युटी सिफ्ट सम्बन्धमा सम्भाव्यता अध्ययन गरी निर्णय गर्नेलगायतका विषयमा नर्स र अस्पताल प्रशासनबिच सहमति भएको थियो । अस्पतालका सूचना अधिकारी शंकरबहादुर जिसीले नर्स काममा नफर्केको र मागका सम्बन्धमा छलफल भइरहेको बताए ।