भनेजेएलाकी विपक्षी नेतृ माचादोलाई नोबेल शान्ति पुरस्कार

शनिबार, २५ असोज, २०८२
डिजिटल संस्करण

भेनेजुएलाकी प्रजातन्त्रवादी नेतृ मारिया कोरिना माचादोलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । भेनेजुएलामा ‘लोकतान्त्रिक अधिकारको प्रवद्र्धन गर्ने अथक प्रयास’का लागि विपक्षी दल भेन्ते भेनेजुएलाकी नेतृ माचादोलाई पुरस्कार प्रदान गरिने भएको नोबेल समितिले  जनाएको छ । समितिले मचादोलाई ‘हक्की र शान्तिप्रति प्रतिबद्ध अगुवा’ भन्दै उनले प्रजातन्त्रका पक्षमा निर्वाह गरेको भूमिकाका लागि पुरस्कृत गर्ने निर्णय गरेको हो । ५८ वर्षीया मचादो नोबेल शान्ति पुरस्कार पाउने बीसौँ महिला हुन् । आगामी डिसेम्बर १० मा उनलाई पुरस्कार वितरण गरिनेछ ।

नोबेल समितिले माचादोलाई ‘भेनेजुएलाका जनताको लागि लोकतान्त्रिक अधिकारको प्रवद्र्धन गर्ने उनको अथक कार्य र तानाशाहीबाट लोकतन्त्रमा न्यायपूर्ण र शान्तिपूर्ण संक्रमण प्राप्त गर्न उनको संघर्षको लागि’ पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । उनले आफूलाई पुरस्कृत गर्ने निर्णयले अचम्मित भएको बताइन् । 

अक्टोबर ७, १९६७ मा काराकसमा जन्मिएकी उनले औद्योगिक इन्जिनियरिङमा डिग्री र वित्तमा स्नातकोत्तर गरेकी छिन् । तीन सन्तानकी आमा माचादो मादुरोको शासनकालमा ध्रुवीकरणको बीचमा मानिसहरूलाई एकताबद्ध गर्न खोज्ने सुमाटे नामक स्वयंसेवी नागरिक संघको सह–संस्थापकको रूपमा २००२ मा राजनीतिमा प्रवेश गरेकी थिइन् ।

उनी सन् २०२४ देखि भूमिगत छन् । निकोलस मदुरोको सरकारले पक्राउ गर्ने धम्की दिए पनि उनले देश छोड्न अस्वीकार गरेकी छिन् । उनी सन् २०१० को संसदीय निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्दै नेसनल एसेम्बलीमा निर्वाचित भएकी थिइन् । सन् २०१२ मा राष्ट्रपति पदको चुनावमा उनी उम्मेदवारका रूपमा मैदानमा देखिएकी थिइन् । सोही वर्ष भेन्ते नामक मध्यम–दक्षिणपन्थी दल स्थापना गरेर उनी राष्ट्रिय संयोजक भइन् ।

गत वर्षको राष्ट्रपति निर्वाचनमा पनि उनले उम्मेदवारीको घोषणा गरेकी थिइन् । तर विभिन्न अभियोग लगाइ उनलाई उम्मेदवारी दिनबाट वञ्चित गरियो । प्रतिबन्धको बावजुद उनले राजधानी काराकसमा आफ्नो छनोटका उम्मेदवार  एडमन्डो गोन्जालेजको चुनावी ¥यालीमा सक्रीय सहभागीता जनाइन । अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिएको उक्त निर्वाचनमा मदुरो पुनः विजयी भएको घोषणा गरिएको थियो । 
सन् २०१७ मा उनको पहलमा सोय भेनेजुएला गठबन्धन स्थापना भएको थियो । गठबन्धनपछि  भेनेजुएलाको विभाजित राजनीतिमा लोकतान्त्रिक शक्ति एकताबद्ध भएको थियो । उनी भेनेजुएलामा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने अभियानमा सक्रिय छिन् ।  उनले बालबालिकाको अधिकार र लोकतान्त्रिक शक्तिको एकतामा अभूतपूर्व योगदान पु¥याएकी छिन् । सन् २०१८ मा बिबीसीको विश्वका सबैभन्दा प्रभावशाली १०० नेताहरूको सूचीमा उनी अट्न सफल भएकी थिइन् । 

नोबेल शान्ति पुरस्कारको इतिहास लामो छ ।  सन् १९०१ देखि अहिलेसम्म १०६ पटक यो पुरस्कार घोषणा भएको छ । अहिलेसम्म ११२ व्यक्ति र ३१ वटा संस्था पुरस्कृत भएका छन् ।

पाकिस्तानी शिक्षा अभियन्ता मलाला युसुफजाई सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्ति हुन् । उनलाई सन् २०१४ मा उक्त पुरस्कार प्रदान गरिएको थियो । त्यतिबेला मलाला १७ वर्षकी थिइन् । पुरस्कार जित्ने सबैभन्दा जेठा व्यक्ति वैज्ञानिक जोसेफ रोटब्लाट हुन् । उनले १९९५ मा ८६ वर्षको उमेरमा ‘आणविक हतियारले खेलेको भूमिकालाई न्युन गर्ने’ कार्यका लागि पुरस्कार जितेका थिए । 

भियतनामी राजनीतिज्ञ ले डुक थोले १९७३ मा यो पुरस्कार अस्वीकार गरे । चार अमेरिकी राष्ट्रपतिहरू  थियोडोर रुजवेल्ट, वुड्रो विल्सन, जिमी कार्टर र बाराक ओबामाले यो पुरस्कार जितेका छन् । यो वर्ष अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको नाम पनि निकै चर्चामा थियो ।  उनी यो पुरस्कारका लागि आकांक्षी रहेको बताइन्छ ।
 

सुझावित समाचार