सम्पादकहरूसँग प्रचण्डको संवाद- ‘ओलीको लिखित प्रस्तावमै सुशीला प्रधानमन्त्री बन्नुभएको हो, अहिले उनैले हाहा–हुहुको सरकार भन्न मिल्दैन’

शनिबार, २५ असोज, २०८२
डिजिटल संस्करण

माओवादीका संयोजक प्रचण्डले सुशीला कार्की नेतृत्वको नागरिक सरकार निवर्तमान प्रधानमन्त्री केपी ओलीकै लिखित सिफारिसमा बनेको बताएका छन् । त्यही सरकारलाई अहिले ओलीले ‘हहा–हुहुमा बनेको’ भन्दै खिसीटिउरी गर्न नमिल्ने उनको भनाइ छ ।

‘सुशीला कार्की तत्कालीन प्रधानमन्त्री केपी ओलीको लिखित सिफारिसमा प्रधानमन्त्री बन्नुभएको हो, हामी त साक्षी मात्र हौँ,’ शुक्रबार सम्पादकहरूसँगको संवादमा प्रचण्डले भने, ‘आफैँले सिफारिस गरेर बनाएको सरकारलाई अहिले ‘हाहा–हुहु’मा बनेको भन्दै हुनुहुन्छ । कम्तीमा ओलीले त्यस्तो भन्न मिल्दैन । बरु, हामी साक्षीले मिल्ला ।’

प्रचण्डले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचन सम्पन्न गराउन सबै लाग्नुपर्ने र त्यसमै देशको हित रहेको बताए । निर्वाचनपछि बृहत् राष्ट्रिय सहमतिमा जेन–जीले अघि सारेका माग सम्बोधन गर्न संविधान परिमार्जन गर्नुपर्ने उनको प्रस्ताव छ । अहिलेको संविधान यथास्थितिमा काम नलाग्ने उनको भनाइ छ ।

‘निर्वाचन सफल बनाउन सबै लाग्नुपर्छ । त्यसपछि राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गरेर जेन–जी पुस्ताका माग सम्बोधन गर्नुपर्छ । अहिलेको प्रमुख आवश्यकता यही हो,’ प्रचण्डले भने, ‘यो संविधान यथास्थितिमा काम लाग्दैन, यसमा परिमार्जन आवश्यक छ । र सहमतिमै यो प्रक्रिया अगाडि बढाउनुपर्छ ।’

प्रचण्डले जेन–जी आन्दोलनबाट संविधान कार्यान्वयनको समीक्षा गर्नुपर्ने विषय अझ सान्दर्भिक बनेको बताए । ‘सबै दलहरूले १० वर्षपछि संविधान कार्यान्वयनको समीक्षा गर्ने प्रतिबद्धता जनाएका थियौँ, अहिले त्यो समय आएको छ,’ उनले भने, ‘अब समीक्षा गरेर के–के सुधार गर्न सकिन्छ भन्नेबारे गम्भीर छलफलमा जानुपर्ने वेला आएको छ । यसका लागि बृहत् राष्ट्रिय सहमति अनिवार्य छ ।’ 

प्रचण्डले विगतमा पनि राष्ट्रिय सहमतिका आधारमा निर्वाचन गरिएको र संविधान निर्माण पनि सहमतिकै आधारमा भएको स्मरण गर्न सबैलाई आग्रह गरे । उनले अहिले आरोप–प्रत्यारोपको समय नभई बिग्रेका कुरा सच्चाउने वेला रहेको बताए । ‘सबै दलले आत्मसमीक्षा गर्नु आवश्यक छ । अब पनि जनताका अगाडि सबै कुरा खुलस्त भन्नुको साटो आपसमा आरोप–प्रत्यरोप गर्नु ठिक होइन । किनभने बिग्रेका कुरा सच्याउने पनि दलहरूले नै हो,’ उनले भने । आफू अहिले नयाँ पुराना सबै दल र जेन–जी प्रतिनिधिसँग संवादमा रहेको पनि प्रचण्डले सुनाए । ‘म नयाँ पुराना सबै दलका नेताहरूसँग संवादमै छु । जेन–जी प्रतिनिधिहरूसँग सम्पर्क र संवादमा छु । उनीहरूलाई विश्वासमा लिएर नै राष्ट्रिय सहमतिको वातावरण बनाउन सकिन्छ,’ उनले भने । 

यसअघिको सत्तारूढ गठबन्धनलाई लक्षित गर्दै प्रचण्डले संविधानको मर्मअनुसार राजनीतिक अभ्यास नहुँदा परिस्थिति असहज भएको टिप्पणी गरे । ‘विगतमा जे अभ्यास गरियो त्यो लोकतान्त्रिक थिएन । संविधानको मर्मअनुसार थिएन । सदनको पहिलो र दोस्रो दल मिलेर दुईतिहाइ बनाएर जे गरे पनि हुन्छ भन्ने मानसिकता त्यहीँबाट बीजारोपण भएको थियो । विश्वासको मत दिँदा मैले यसको परिणाम निकै गम्भीर हुन्छ भनेको कुरा तपाईंहरूलाई स्मरण गराउन चाहन्छु,’ उनले भने । जेन–जी पुस्ताको आन्दोलनअघि नै आफूले खबरदारी गरेको, तर सरकारले नसुनेको पनि प्रचण्डले सुनाए ।  

सेनालाई धन्यवादसँगै प्रश्न
प्रचण्डले आन्दोलनका वेला आफूलाई सेनाले बचाएको भन्दै धन्यवाद दिए । सँगसँगै आफूलाई बचाएको सेनाले सिंहदरबार, सर्वोच्च अलालत र शीतलनिवास किन नबचाएको भनेर प्रश्न पनि गरे । ‘मलाई अहिले हामी कसरी बाँचियो भन्ने लाग्छ । एक मनले सोच्छु हामीलाई सेनाले बचाएको हो । फेरि सोच्छु हामीलाई बचाएको सेनाले सिंहदरबार किन बचाएन ? सर्वोच्च अदालत किन बचाएन ? शीतलनिवास किन बचाएन ?’ उनले भने । विपक्षी दलहरूको बैठकमा सिंहदरबारमै रहेका वेला आन्दोलन बढ्दै जाँदा सेक्युरिटीका मान्छेले ‘बाहिर जान ठिक नहुने’ सुझाएपछि आफैँले प्रधानसेनापतिलाई फोन गरेर सुरक्षा मागेको पनि प्रचण्डले सुनाए । त्यसपछि सेनाले आफूलाई उद्धार गरेर हेडक्वार्टर लगेको उनले बताए । ‘प्रधानमन्त्रीदेखि मन्त्री र नेताहरूलाई सेनाले हेलिकोप्टर र गाडीमा राखेर उद्धार गरिरहेको थियो । मैले आफैँ प्रधानसेनापतिलाई फोन गरेर सुरक्षाका लागि आग्रह गरेको हुँ,’ उनले सुनाए । हेडक्वार्टरबाटै राजनीतिलाई सही ट्र्याकमा फर्काउन सक्नेजति भूमिका खेलेको प्रचण्डले बताए ।

See More On

सुझावित समाचार