तीन वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

बिहिबार, २३ असोज, २०८२
डिजिटल संस्करण

यस वषको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जापान, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाका तीन वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । नोबेल पुरस्कार समितिले बुधबार उक्त घोषणा गरेको हो । जापानका सुसुमु कितागावा, अस्ट्रेलियाका रिचर्ड रोबसन र अमेरिकाका ओमर एम याघीलाई धातु–जैविक ढाँचामा उनीहरूको कामका लागि पुरस्कार प्रदान गरिने भएको हो । उनीहरूले ‘मलिक्युलर आर्किटेक्चर’को नयाँ शैली विकास गरेका छन् । यो पर्यावरण शुद्धीकरणसहित विभिन्न प्रयोजनमा प्रयोग हुन सक्ने विज्ञहरू बताउँछन् । वैज्ञानिकहरूको काम अणुहरूलाई संरचना वा धातु–जैविक ढाँचा (एमओएफएस) मा कसरी निर्माण गर्न सकिन्छ भन्नेबारे हो । नोबेल समितिले यसलाई ‘आणविक वास्तुकला’ भनेको छ ।  

जापानको क्योटो विश्वविद्यालयबाट हाइड्रोकार्बन रसायन विज्ञानमा विद्यावारिधि गरेका कितागावा यसअघि हम्बोल्ट अनुसन्धान पुरस्कार (२००८) र डे जेनेस पुरस्कारबाट सम्मानित भइसकेका छन् । उनी हाल क्योटो विश्वविद्यालयमा अध्यापन गर्छन् । ‘म आज निकै खुसी छु । समितिलाई धेरै–धेरै धन्यवाद,’ पुरस्कारबाट सम्मानित भएपछि उनले भने । कितागावाको जन्म सन् १९५१ मा जापानमा भएको हो ।

बेलायतमा जन्मिएका र अक्सफोर्ड विश्वविद्यालयमा रसायनशास्त्र अध्ययन गरेका रोबसन अहिले मेलबर्न विश्वविद्यालयमा पढाउँछन् ।  याघीको जन्म जोर्डनको अम्मानमा भएको थियो । उनले अमेरिकाको युनिभर्सिटी अफ इलिनोइस अर्बाना–च्याम्पेनबाट आफ्नो पिएचडी पूरा गरेका छन् र अहिले अमेरिकाको बर्कलेस्थित क्यालिफोर्निया विश्वविद्यालयमा पढाइरहेका छन् ।

तीन विजेताहरूले ११ मिलियन स्विडिस क्रोनर (आठ लाख ७२ हजार युरो) पुरस्कार रकम बाँड्नेछन् । यसअघि नोबेल पुरस्कार समितिले सोमबार चिकित्साशास्त्रतर्फ र मंगलबार  भौतिकशास्त्रतर्फका विजेताहरूको नाम घोषणा गरेको थियो ।

सुझावित समाचार