सुदूरपश्चिममा फर्किएनन् साढे चार सय कैदीबन्दी

बुधबार, २२ असोज, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनका क्रममा सुदूरपश्चिमका विभिन्न जिल्लास्थित कारागारबाट निस्किएका साढे चार सय कैदीबन्दी फर्किएका छैनन् । ६ वटा कारागार र एउटा बाल सुधारगृहबाट फरार भएका ४४८ जना कैदीबन्दी हालसम्म नफिर्कएका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ । तीमध्ये ३६ महिला कैदीबन्दी हुन् ।

आन्दोलनका वेला कैलाली, कञ्चनपुर, डडेल्धुरा, दार्चुला, बझाङ र बैतडी कारागार तथा बाल सुधारगृह डोटीबाट एक हजार ४५८ जना कैदीबन्दी फरार भएका थिए । फरारपछि प्रहरीले नियन्त्रणमा लिएको र आफै सम्पर्कमा आएका कैदीबन्दीको संख्या एक हजार पाँच रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

गत २४ भदौमा आन्दोलनकारी कारागारहरू पुगेर तोडफोड गर्नुका साथै कैदीबन्दीलाई बाहिर निकालेका थिए । कैलाली कारागारबाट प्रदेशभरमै सबैभन्दा बढी २३ महिलासहित २९७ जना कैदीबन्दी फरार छन् । कैलाली कारागारबाट फरार भएका १९ जना भारतीय नागरिक पनि नफर्किएको कैलाली कारागार प्रमुख चिरञ्जीवी सापकोटाले बताए । आन्दोलनकारीले कैलाली कारागार नियन्त्रणमा लिएपछि त्यहाँ रहेका ६६७ जना कैदीबन्दीमध्ये ६६६ जना निस्किएका थिए । 

प्रदेश प्रहरी कार्यालयका अनुसार कञ्चनपुर कारगारबाट ११०, डडेल्धुरामा पाँच, दार्चुलामा सात, बझाङमा १२, बैतडीमा दुईजना कैदीबन्दी फरार छन् । त्यस्तै, बाल सुधारगृह डोटीबाट १५ जना फरार छन् । सरकारले फरार भएका कैदीबन्दीलाई पछिल्लो समय २० असोजसम्म कारागार फर्किसक्न भनेको थियो ।

फरार भएका कैदीबन्दीबाट सुरक्षा चुनौती बढेको छ । खुला सिमानाका कारण फरार भएका कतिपय कैदीबन्दी भारत गएको हुन सक्ने सुरक्षा अधिकारीहरूको आकलन छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक गौतमले फरार भएका कैदीबन्दीबाट हुन सक्ने आपराधिक घटना र सुरक्षा चुनौतीको आकलन गरेर सुरक्षा सतर्कता अपनाइएको बताए ।

फरार कैदीबन्दी पक्राउ गर्न जिल्लाबिच समन्वय गर्ने, नाकामा निगरानी गर्नेजस्ता काम भइरहेको उनले बताए । कतिपय ठाउँमा फरार कैदीबन्दी अपराधमा संलग्न देखिएपछि सुदूरपश्चिममा अहिलेसम्म फरार कैदीबन्दीबाट आपराधिक घटना भएको नपाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

‘फरार कैदीविरुद्ध कारबाहीको चरण सुरु भएको छैन, अहिलेसम्म कारागार फर्किन नै भनिएको छ,’ प्रहरी उपरीक्षक गौतमले भने, ‘अहिले फरार भए पनि कुनै न कुनै दिन कैद सजाय भुक्तान गर्नैपर्छ । सरकारले दिएको समयमा कारागार नफर्किए कैदीबन्दीले थप सजाय भोग्नुपर्ने हुन्छ ।’ 

सुझावित समाचार