कञ्चनपुरमा जंगली हात्तीको आतंक कायमै छ । पाक्न लागेको धानखेती र उखु बालीमा हात्तीको बथान छिरेर नष्ट गरेपछि स्थानीय चिन्तित बनेका छन् ।जिल्लाका विभिन्न गाँउबस्तीहरूमा दिउँसोदेखि रातिसम्मै हात्तीको बथानले भौतिक संरचनादेखि उखु र धानबाली नष्ट गरिदिएको छ ।
बेलडाँडीमा पक्की घर, मन्दिर, भान्सा, शौचालय र धानबाली नष्ट गरिदिएको छ । स्थानीय धनसिंह मडैले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको बथानले जोगी दमाईंको पक्की घर, जय दमाईं, नवीन दमाईं, प्रदेशी सार्की, भन्सा र नवीन ओखेडाको गोठसहित मन्दिर भत्काइदिएको छ ।
बेलौरी नगरपालिका– ९ कुण्डाका कर्णबहादुर कुँवर, गौरी चन्द, पुनाराम चौधरी, जयराम चौधरी, खुसीराम चौधरी, बुद्धिराम चौधरी, बिन्तीराम चौधरी, राजकुमार चौधरीको उखु र धानबाली नष्ट गरिदिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले जिल्लाका विभिन्न स्थानमा जंगली हात्तीले भौतिकदेखि अन्नबाली नष्ट गरिरहेको बताए । ‘हामीले जहाँ–जहाँ हात्ती आउँछ, त्यहाँ प्रहरीसहितको अन्य जनशक्ति खटाएर थप क्षति हुन नदिने काम गरिरहेका छौँ,’ उनले भने, ‘अझै पनि कञ्चनपुरमा हात्तीको जोखिम कायमै छ ।’