जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखामा मौसमविद् सञ्जीव अधिकारीलाई ३ प्रश्न

बुधबार, २२ असोज, २०८२
डिजिटल संस्करण

देशबाट मनसुन पूरै बाहिरिसकेको हो ?  
होइन । अझै केही दिन मनसुनी वायु सक्रिय रहनेछ । हामीले मनसुन आगमन वा बहिर्गमनभन्दा पनि मनसुनी हावा कहाँ पुग्यो भनेर अपडेट दिइरहेका हुन्छौँ । यसअघि हामीले जारी गरेको अपडेटमा कर्णाली र सुदूरपश्चिम प्रदेशबाट पूरै बाहिरिएको र गण्डकी तथा लुम्बिनीको केही भाग छाडेको जानकारी गराएका थियौँ । अहिले पनि लगभग त्यही नै अवस्था हो । थप परिवर्तन भए हामी अपडेट गराउँछौँ । तथापि, मनसुन सक्रिय रहेको स्थानमा पनि अहिले यो कमजोर बनेको छ । काठमाडाैंमा हिजोआज परिरहेको पानी यही कमजोर मनसुनी प्रणाली र स्थानीय प्रणालीको प्रभाव हो । 

धानबाली भित्र्याउने वेला यसबिच ठुलो पानी आउने सम्भावना कत्तिको छ ? 
मौसम पूर्वानुमानअनुसार मध्य–नेपालमा छिट्पुट पानी पर्ने सम्भावना छ । कोशी प्रदेशमा अझै पानी पर्नेछ । उता कर्णाली र सुदूरपश्चिममा भने अस्तिबाट पानी पर्न थालेको छ । यस्तोमा पश्चिमी भेगमा अहिले धानबाली नकाट्नु नै उपयुक्त हुन्छ । तथापि, त्यहाँको पानी पनि लामो समय पर्दैन । आजबाट बिस्तारै मौसम खुल्नेछ । तथापि, स्थानीय प्रणालीका आधारमा पानी नपर्ने भन्ने हुँदैन । धानबाली भित्र्याउने वेला आफ्नो क्षेत्रबारे आएका मौसम पूर्वानुमानलाई ख्याल गर्नु उपयुक्त हुन्छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनसुन बाहिरिएपछि झन् पानी पर्न थालेको छ, किन होला ? 
पानी पार्ने प्रणाली मनसुन मात्र होइन । मनसुन बाहिरिएपछि त्यहाँ पश्चिमी वायु सक्रिय भयो र त्यसैले पानी पारेको हो । तर, त्यो पनि लामो समय सक्रिय हुनेछैन । आजबाट प्रभाव कम हुने देखिन्छ । अब मनसुन बाहिरिँदै जाने भएकाले अन्य प्रणालीको आधारमा पानी पर्ने भएकाले मौसम पूर्वानुमानमाथि ख्याल गरेर काम गर्नु उपयुक्त हुन्छ । 

सुझावित समाचार