रामेछाप–काठमाडाैं जहाज उडान माग गर्दै युवाले बुझाए प्रशासनमा मागपत्र

मंगलबार, २१ असोज, २०८२
डिजिटल संस्करण

विगत लामो समयदेखि रामेछापको विमानस्थलबाट काठमाडौंका लागि उडान नहुँदा जिल्लावासीले सुविधा नपाएको भन्दै आक्रोशित बनेका युवाहरूले तीन दिनभित्र रामेछाप–काठमाडाैं उडान नभए आन्दोलनमा उत्रने चेतावनी दिँदै शान्तिदीप युवा क्लब रामेछापले मंगलबार प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापासमक्ष मागपत्र प्रस्तुत गरेकाे छ । 

क्लबका अध्यक्ष सुरेश उदाससहित जेन–जी समूहका युवाहरू जिल्ला प्रशासन कार्यालयमा पुगी उक्त मागपत्र प्रमुख जिल्ला अधिकारीलाई पेस गरेका हुन् । यही असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण सडक क्षतविक्षत भएपछि वृद्धवृद्धा, असक्त, बिरामीहरूले सहज रूपमा काठमाडौंसम्म जान–आउन अति नै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । कतिपय बिरामीहरूले विचबाटोमा नै ज्यान गुमाउनुपर्नेसम्मको समस्या झेल्नुपरेको, तर जिल्लामा भएको विमानस्थलबाट नागरिकहरूले सेवा पाउन नसकेको भन्दै युवाहरू आक्रोशित बनेका हुन् । 

सोमबार पनि क्लबका युवाहरू र जेन–जी युवाहरू सोही विषयलाई लिएर विमानस्थल र जिल्ला प्रशासन कार्यालयसम्म पुगेका थिए । युवाहरूले पेस गरेको मागपत्र बुझ्दै रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जिल्लावासीको माग जायज रहेकाले सम्बन्धित निकायले समयमा नै सोच्नुपर्ने भन्दै मागको विषयमा माथिल्लो निकायमा जानकारी गराउने जानकारी दिए । 

रामेछाप विमानस्थलबाट विगत वर्षदेखि विभिन्न तीन निजी वायुसेवा कम्पनीहरूले रामेछाप हुँदै सोलुको लुक्ला उडान भर्दै आएका छन् । रामेछाप–काठमाडाैं उडान नभर्दा रामेछापका नागरिकहरूले हवाई सेवा पाउन सकेका छैनन् । स्थानीय युवाहरूले रामेछाप–काठमाडाैं उडान तालिका सार्वजनिक गरी यात्रुहरूलाई सुविधा दिनुपर्ने माग राखेका छन् । 

हाल विमान कम्पनीहरूले काठमाडाैं–रामेछाप–सोलु उडान भरे तापनि पर्यटकहरूलाई मात्रै ओसार्ने काम गर्दै आएका छन् । कहिलेकाहीँ ती कम्पनीका जहाजहरू काठमाडाैं जाने र यात्रु नभएको खण्डमा मात्रै केही यात्रुहरू एकतर्फी लैजाने गरेका छन् । तर, ती जहाजहरूले तालिका सार्वजनिक गरेर उडान भने भरेका छैनन् । अहिले रामेछाप विमानस्थलबाट सीता, समिट र तारा एयरलाइन्सहरूले पर्यटकहरूलाई सेवा दिँदै आएका छन् ।  रामेछाप विमानस्थलबाट लुक्ला सरदर दैनिक २५ देखि ५० उडानसम्म हुने गरेका छन् । 
 

सुझावित समाचार