घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सेवा लिने बिरामीको संख्या बढेको छ । प्रतिष्ठानबाट आर्थिक वर्ष ०८१/०८२ बहिरंग र अन्तरंग गरेर दुई लाख १८ हजार ७९ जना बिरामीले सेवा लिएका छन् । जसमा बहिरंग सेवा दुई लाख चार हजार एक सयजना र अन्तरंग सेवा १३ हजार नौ सय ७९ जना छन् ।
अघिल्लो आर्थिक वर्ष ०८०/०८१ मा वहिरंग र अन्तरंगगरी एक लाख ७६ हजार नौ सय ७४ जना बिरामीले सेवा लिएका थिए । जसमा वहिरंग सेवा एक लाख ६८ हजार पाँच सय २२ जना र अन्तरंग सेवा आठ हजार चार सय ५२ जना बिरामीले लिएका थिए ।
त्यस्तै, आर्थिक वर्ष ०७९/८० मा वहिरंग र अन्तरंग गरेर एक लाख ६० हजार ६ सय ५८ जनाले सेवा लिएका थिए । जसमा वहिरंग सेवा एक लाख ५३ हजार पाँ सय र अन्तरंग सेवा सात हजार एक सय ५८ जना रहेको प्रतिष्ठानका सूचना अधिकृत निशानदाजु भट्टराइले जानकारी दिए ।
बिरामीको चाप बढेपछि अस्पतालमा बेड अभाव हुने गरेको समेत उनले बताए । उनका अनुसार चालु वर्षदेखि नै थप चारसय बेडको अस्पताल निर्माण सुरु हुनेछ । प्रतिष्ठानमा हाल ३२० बेड रहेको छ ।
विशेषज्ञ सेवा र अत्याधुनिक उपकरणहरु थपिँदै गएपछि सेवा लिनेको संख्या बढिरहेको हो । प्रतिष्ठानले गएको आर्थिक वर्षदेखि न्यूरो सर्जरी सेवा समेत सुरु गरेको प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले बताए ।
साथै, आगामी मंसिरदेखि क्याथ्ल्याब सेवा सुरुगरी मुटुरोग उपचार सुरु गर्ने तयारी रहेको छ । हाल प्रतिष्ठानले सामुदायिक सेवाअन्तर्गत रोल्पाको होलेरी र त्रिवेनीमा सेवा सुरु गरेको छ । प्रतिष्ठानले एमबिबिएस कार्यक्रम समेत सञ्चालन गरेको छ ।