गृह मन्त्रालय, राष्ट्रिय विपत् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यकाका नदीखोला किनारका सडकमा सवारी आवागमनमा रोक लगाउन स्थानीय प्रशासनलाई निर्देशन दिएकाे छ।
प्राधिकरणले जिल्ला प्रशासन कार्यालय, काठमाडौं, ललितपुर र भक्तपुरलाई शनिबार पत्राचार गरी सम्भावित जोखिम कम गर्न काठमाडौं उपत्यकाका नदी–खोला किनारका सडक (करिडर सडक)मा आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म सवारी आवागमनमा आवश्यकताअनुसार रोक लगाउन भनेकाे हाे।
प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले देशभर वर्षा भइरहेकाे र आज राति वर्षाको मात्रा अझै बढ्न गई नदी–खोलामा पानीको तह थप बढ्ने एवं नदी–खोला किनारका सडक डुबानमा परी जोखिम बढ्ने सम्भावना रहेकाले सवारी आवागमनमा राेक लगाउन भनिएकाे बताए।
त्यसैगरी, प्राधिकरणले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयमार्फत परिपत्र गर्दै सबै जिल्लाबाट चल्ने लामो दूरीका सवारीसाधनको आवत-जावतमा सोमबारसम्म रोक लगाउनुअघि नै गन्तव्यतर्फ प्रस्थान गरेका यात्रुहरूलाई सम्बन्धित स्थानीय तह, यातायात व्यवसायीहरू एवं सरकारी तथा गैरसरकारी संघ-संस्था, निजी क्षेत्रलगायतसँगको समन्वयमा सुरक्षित स्थानमा राख्दै खानपान, स्वास्थ्योपचारलगायतका आवश्यक बन्दोबस्त गर्न–गराउन भनेकाे छ।