मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ५, महालक्ष्मी खोलानजिक पहिरो खस्दा कुलेखानी–फाखेल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
शुक्रबार रातिदेखि परिरहेको अविरल वर्षाका कारण ठुलो पहिरो गएपछि उक्त सडकखण्डमा सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सडक अवरुद्ध भएपछि काठमाडौंतर्फ गइरहेका सवारीसाधनहरूलाई कलंकी र सिमखोलाआसपासका क्षेत्रमा होल्ड गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) पुष्कर बोगटीले जानकारी दिए ।
यता, मकवानपुर जिल्ला प्रशासन कार्यालयले सुरक्षाको दृष्टिले अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा तीन दिन (१८, १९ र २० गते) रोक लगाउने निर्णय गरेको छ । मकवानपुरका त्रिभुवन राजपथ, कान्ति लोकपथ, भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ र भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा सवारीसाधन आवतजावतमा पूर्ण रोक लगाइएको हो ।
अविरल वर्षाका कारण सडकमा निरन्तर ढुंगा खस्ने, पहिरो झर्ने र सडक धसिने घटना बढिरहेकोले प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । यसैबिच, डोजर र प्रहरी टोली परिचालन गरी बाटो खुलाउने प्रयास भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।