बारामा यात्रुवाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १३ जनाभन्दा बढी घाइते भएका छन्। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक दीपक केसीका अनुसार बसको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। उनका अनुसार जनकपुरबाट नारायणघाटतर्फ जाँदै गरेको यात्रुवाहक बस जितपुरसिमरा उपमहानगरपालिका– २२ स्थित चुरेमाई मन्दिरनजिक अनियन्त्रित भई तल झर्दै गर्दा पछाडि आइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो। सो मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनापछि स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धारकार्य थालेका छन्। बसमा सवार घाइते यात्रुहरूलाई नजिकैको स्वास्थ्य संस्था तथा वीरगन्जस्थित अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएको छ।
मृत्यु हुने र घाइते हुनेको पहिचान सार्वजनिक हुन बाँकी छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।