राजापुरका मेयरले दुर्व्यवहार गरेको भन्दै ब्याडमिन्टन खेलाडीद्वारा आपत्ति

मंगलबार, १४ असोज, २०८२
डिजिटल संस्करण

ब्याडमिन्टन खेल्न गएका खेलाडीलाई राजापुर नगरपालिकाका प्रमुख दिपेश थारूले दुर्व्यवहार गरी कभर्डहलबाट निकालेका छन्। राजापुर नगरपालिका– ५, कौवा बजारमा रहेको कभर्डहलमा ब्याडमिन्टन खेल्न गएका खेलाडीलाई नगरप्रमुख थारूले दुर्व्यवहार गरी कभर्डहलबाट निकालेका हुन्।

असोज ४ गते साँझ स्थानीय खेलाडीबिच मैत्रीपूर्ण खेल भइरहेको समयमा नगरप्रमुख आएर खेलाडीलाई दुर्व्यवहार गरेको थिए।  सो घटनाको विरोधमा भौराटप्पा ब्याडमिन्टन ग्रुप राजापुरले १३ असोजमा प्रेस विज्ञप्ति निकालेको हो।

खेलाडीहरूले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘कभर्डहलमा खेल खेलिरहेका समयमा नगरप्रमुखसहितको टोली अचानक हलमा प्रवेश गरेकाे थियाे। हलमा प्रवेश गरेकामध्ये केहीले मदिरा सेवन गरेर आएका थिए। र, नगरप्रमुख स्वयंले अनुशासनविपरीत दुर्व्यवहार गर्दै हलबाट बाहिर जान भनी अपशब्द र गालीगलौज गरी जबर्जस्ती कोर्टबाट बाहिर निष्कासित गरे।’

हलमा प्रवेश गरेकाहरूले ‘हतियार लिएर लखेट्नुपर्छ’जस्ता उत्तेजक र धम्कीपूर्ण शब्दहरू प्रयोग गरेकाे विज्ञप्तिमा उल्लेख छ। कभर्डहल नगरप्रमुख वा कसैको निजी सम्पत्ति नभएर नगरवासीको साझा सम्पत्ति भएको उल्लेख गर्दै भनिएको छ, ‘खेलाडीहरूलाई अपमानजनक र धम्कीपूर्ण व्यवहार गर्नु पूर्णरूपमा निन्दनीय र गैरकानुनी कार्य हो। मदिरा सेवन गरेर सार्वजनिक खेल पूर्वाधारमा यस्तो कार्य गर्नु नगरप्रमुखको मर्यादाविपरीतको घटना हो।’

असोज ४ गते साँझ दुर्व्यवहार भएपछि ब्याडमिन्टन खेलाडीहरू कभर्डहलमा जान छाडेका छन्। नगरप्रमुखले सत्ता र शक्तिको दुपयोग गरी घरनजिक कभर्डहल बनाएको भन्दै स्थानीय स्तरमा विरोधसमेत हुने गरेको थियो।
 

सुझावित समाचार