नेपालमा युवावस्थामै मुटु बिग्रने क्रम बढ्दो छ । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा मुटु रोगका कारण वार्षिक ३० हजारको मृत्यु हुन्छ । जसमा एकतिहाइ मृत्यु १३ देखि ४५ वर्ष उमेर समूहका छन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले नेपालमा युवा पुस्तामा मुटु बिग्रिने क्रम बढ्दो रहेको बताए । १२ देखि २८ वर्ष उमेर (जेन–जी) समूहका मानिसमा अहिलेसम्म ठोस अध्ययन हुन सकेको छैन । रेग्मीका अनुसार डब्लुएचओले हालै १३ देखि ४५ वर्षसम्मका मानिसमा गरेको अध्ययनले जेन–जी उमेर समूहका युवाको मुटु धेरै बिग्रिएको देखाएको छ ।
‘अहिलेको परिवेश, खानपान र डिभाइसका कारण युवाहरूमा मुटुको समस्या बढ्दो छ, नेपालमा मुटुको कारण हुने मृत्युको एकतिहाइ अल्पायु अर्थात् १३ वर्षदेखि ४५ वर्षसम्म छ,’ रेग्मीले भने, ‘जेन–जी उमेर समूहकोमा ठ्याक्कै अध्ययन नभए पनि विश्व स्वास्थ्य संगठनको समग्र अध्ययनले नेपालमा जेन–जीहरूको मुुटु निकै बिग्रँदो छ भन्ने देखाउँछ । अस्पतालमा आउने बिरामीमध्ये पनि जेन–जीको संख्या बढ्दो देखिन्छ ।’
रेग्मीका अनुसार १२ देखि २८ वर्ष भनेको रोगको सुरुवातको समय हो । रोगको जग बस्ने समय हो । यो उमेर समूहमा मुटुसम्बन्धी रोग आउन नदिन प्रयत्न गरिएन वा उपचार गरिएन भने जोखिम हुन सक्छ । पछिल्लो समय कलिलो उमेरमै उच्च रक्तचाप, मधुमेह, किड्नी तथा कलेजो बिग्रने क्रम बढ्दो छ, जुन रोगले मुटुमा सिधै असर पार्ने गर्दछ ।
विश्वमा बर्सेनि मुटुरोगबाट दुई करोड मानिसको मृत्यु हुन्छ । त्यसमध्ये ६५ लाख मानिस अल्पायुमै मर्छन् । नेपालमा वार्षिक ३० हजार मानिसको मुटुरोगबाट मृत्यु हुन्छ भने त्यसमध्ये एकतिहाइ मृत्यु अल्पायुमै हुन्छ । जसलाई विश्व स्वास्थ्य संगठनले १३ देखि ४५ वर्ष समूहमा वर्गीकरण गरेको छ । रेग्मीका अनुसार २९ सेम्टेम्बर अर्थात् १३ असोजमा ‘मुटुलाई धड्कन देऊ’ भन्ने नाराका साथ विश्वभर मुटु दिवस मनाइँदै छ । विश्व मुटु महासंघले सन् २०३० सम्ममा मुटुको उपचारको दायरा बढाएर हाल उपचारको दायरामा नआएका ५० करोड मानिसलाई उपचारको दायरामा ल्याउने लक्ष्य राखेको छ ।
यसकारण बिग्रँदै छ युवाको मुटु
जेन–जी पुस्ताको मुटु बिग्रनुको पहिलो कारण धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन रहेको रेग्मीले बताए । उनका अनुसार जंकफुड तथा तयारी खाना, शारीरिक अभ्यास नहुनु, मोबाइलमा बढी समय बिताउनु, मदिरा सेवन गर्नु, कलिलो उमेरमै उच्च रक्तचाप र मधुमेह देखिनुलगायत कारणले युवाहरूको मुटु बिग्रने गरेको छ । जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले समग्रमा जेन–जीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा रहेको बताइन् । ‘जेन–जी उमेर समूहमा मुटुरोग बढ्दो छ, उनीहरूको खानपान र जीवनशैली नमिल्दा मुटुसम्बन्धी रोग बढ्दो छ,’ उनले भनिन्, ‘त्यसकारण जेन–जी उमेर समूह आफ्नो स्वास्थ्यप्रति सचेत हुन जरुरी छ ।’
दैनिक सात घण्टा मोबाइलमा बिताउँछन् जेन–जी
चिकित्सकका अनुसार १२ वर्षदेखि २८ वर्ष अर्थात् जेन–जी उमेर समूहका युवाले दैनिक सात घण्टा मोबाइलमै बिताउँछन् । यो अध्ययन हालै मात्र विश्व स्वास्थ्य संगठन र विश्व मुटु महासंघले गरेको रेग्मीले बताए । ‘नेपालका जेनजी युवाले दैनिक सात घण्टा स्क्रिन (मोबाइल, टिभी, ल्यापटप, आइप्याडलगायत)मा बिताउँछन्, धेरै समय सामाजिक सञ्जालमा बिताउँदा हिँड्डुल कम भयो, बस्दाबस्दा र एकोहोरिँदा शरीरको बनावट नै फरक हुन्छ,’ उनले भने, ‘स्क्रिन टाइमले दिमागको सोचाइमै परिवर्तन हुने गरेको छ, त्यसकारण विश्व स्वास्थ्य संगठनले जेन–जीको स्क्रिन टाइम घटाएर दैनिक एक घण्टामा झार्नुपर्ने सुझाव अधिकांश देशलाई दिएको छ ।’ उनका अनुसार स्क्रिन टाइम धेरै हुँदा निद्रा खल्बलिन्छ, जसकारण थुप्रै रोग लाग्न सक्छन् ।
२० प्रतिशतले मात्रै उच्च रक्तचाप जाँच गराउँछन्
विश्व स्वास्थ्य संगठनले गत वर्ष मात्रै गरेको अध्ययनअनुसार नेपालमा २० प्रतिशतले मात्रै उच्च रक्तचाप जाँच गराउँछन् । अर्थात् २० प्रतिशतमा मात्रै उच्च रक्तचापका बिरामी अस्पताल जान्छन्, अन्य ८० प्रतिशतलाई आफूलाई उच्च रक्तचाप भएको थाहै हुँदैन । उच्च रक्तचाप भएको थाहा नपाउँदा मधुमेह, मुटरोग, मिर्गौलाजस्ता घातक रोग लाग्ने गरेको छ ।