काठमाडौँ महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका सिटी मार्केटका पसलहरू खाली गर्न तीन महिनाको अल्टिमेटम दिएको छ ।
महानगरको राजस्व विभागले आज जारी गरेको सार्वजनिक सूचनाअनुसार, मार्केटलाई आय ठेक्कामा लगाउने सम्बन्धमा गणेश इलेक्ट्रोनिक्ससँग २०७९ पुस २२ गते सम्झौता भएको थियो । तर, सम्झौताअनुसार कार्य नभएको र सो सिटी मार्केट भत्काई वडा कार्यालय भवन निर्माण गर्न सम्बन्धित वडाबाट माग भई आएको महानगरले जनाएको छ ।
हाल सिटी मार्केटमा रहेका २७ जना व्यवसायीहरूलाई तीन महिनाभित्र अन्यत्र सरेर उक्त स्थान खाली गरिदिन महानगरले निर्देशन गरेको हो ।
महानगरपालिका नगर कार्यपालिकाको भदौ १५ गतेको बैठकले गणेश इलेक्ट्रोनिक्सले कबोल गरेको वार्षिक दुई करोड ७१ लाख रुपैयाँलाई मार्केटमा रहेका जम्मा पसल कबलको संख्याको अनुपातमा हुन आउने रकम उक्त मार्केटमा सञ्चालनमा रहेका व्यवसायीले तिर्न बाँकी रकम दाखिला गरेपछि मात्र राखिएको धरौटी रकम फिर्ता दिने निर्णय गरेको छ ।