जिल्लाको प्रमुख सिमानाका भिठामोड (मलिवाडा)मा यसपटक भारतबाट आउने नेपालीको संख्या कम देखिएको छ । देशमा हालै भएको आन्दोलनले भारतीय पर्यटकसँगै नेपालीको संख्या समेत कम देखिएको छ । यहि समय गत वर्षहरूमा सुरक्षा निकायहरूलाई चेकजाँच गर्न भ्याईनभ्याई हुने गरे पनि यसपटक भने अपेक्षाकृत नेपालीहरू घर फर्केका छैनन ।
सुरक्षा जाँचमा खटिएको सुरक्षाकर्मीहरूले यात्रीहरू आईरहे पनि गत वर्षहरूमा भन्दा कम देखिएको बताए । बाँग्लादेशमा एमबिबिएस पढिरहेका जनकपुर निवासी शिवम कुमार सिंहले समाचार तथा सामाजिक संजालहरुमा देखिएको भयको अवस्था आफ्नै ठाउ आईपुग्दा नदेखिएको बताउदै भारतहुँदै नेपाल फर्कदा कहि कतै कुनै समस्या नभएको र भारत तथा नेपालका चेक प्वाईन्टहरूमा समेत सहज नै भएको बताए ।
पर्यटक लोभ्याउन नाकामा स्वागत
आन्दोलनअघिसम्म भारतीय पर्यटकले भरिभराउ रह्ने महोत्तरीका अधिकांश होटेलहरू अहिले खाली खाली छन् । यही कारण भारतीय पर्यटक लोभ्याउन व्यवसायीहरूले नाकामै पुगेर स्वागत गर्न थालेका छन् ।
विश्व पर्यटन दिवश २०२५ को अवसर पारेर उनीहरूले भिठामोड नाकामै पुगेर यात्रीहरूलाई गमछा ओढाई स्वागत गरेका छन्। महोत्तरीसहित मधेश प्रदेशको प्रमुख पर्यटकीय स्थलहरूको फोटोसहितको ब्यानर बोकी नाका पुगेका होटेल एशोसिएसन नेपाल मधेश प्रदेश तथा होटेल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका पदाधिकारीहरूले नाकामा यात्रीहरुलाई स्वागत गरेका हुन् ।
होटेल तथा पर्यटन व्यवसाय संघका प्रदेश सल्लाहकार दिपेन्द्र पराजुलीले आन्दोलनले व्यवसायमा निक्कै क्षति गरेको बताए पनि हाल देशको अवस्था सामान्य भएको र पर्यटकहरूको स्वागतको लागि आफूहरू तयारी अवस्थामा रहेको बताए । उनले महत्वपूर्ण पर्यटकीय स्थलहरु भिजिट गर्न महोत्तरी तथा मधेश प्रदेशका होटेल व्यवसायीहरूले पर्यटकहरूलाई पूर्ण सुरक्षाको प्रत्याभुति दिने बताए ।