काठमाडौं उपत्यकाका पर्वलक्षित विशेष सुरक्षा योजना लागू भएकै दिन दुई सुरक्षाकर्मीमाथि सांघातिक हमला भएको छ । हमलामा भक्तपुरस्थित प्रहरी प्रभाव कटुन्जेका सइ राजन बनमाला र प्रहरी जवान राजबहादुर ऐर परेका हुन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार उनीहरूमाथि गत ६ असोजमा हमला भएको हो। घटनामा सइ बनमालाको हात र ढाडमा गम्भीर चोट लागेको छ भने प्रहरी जवान ऐनको टाउको र हातमा चोट लागेको छ। उनीहरूको अहिले महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरको प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले दुई सुरक्षाकर्मीमाथि सांघातिक हमला भएको र उनीहरूको अहिले प्रहरी अस्पतालमा उपचार भइरहेको बताए।
उनले भने, ‘गत ६ असोजमा दुई सुरक्षाकर्मी माथि आक्रमण भयो। उनीहरू घाइते भएका छन्। उनीहरूको अहिले महाराजगन्जस्थित प्रहरी आस्पतालमा उपचार भइरहेको छ। घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ।’
प्रहरीका अनुसार घटनामा संलग्नमध्ये तीनजना पक्राउ परेका छन्। पक्राउ पर्ने धादिङका अरुण विक, बलराम विक र कुमार विक रहेका छन्। उनीहरूले भक्तपुर सूर्यविनायक नपा–४ स्थित हिमाल फार्मेसीमा सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए । घटनामा अन्य चारजना पनि संलग्न थिए। उनीहरू भने अहिले फरार छन्।
प्रहरीका अनुसार गत ६ असोजको बेलुका ९ बजे औषधि खरिद गर्ने क्रममा फार्मेसीमा झगडा भएको थियो । औषधि पसलेले घटना सम्बन्धमा प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै सइ बममालाको कमान्डमा सुरक्षाकर्मी घटना स्थल पुगेका थिए। पक्राउ गर्ने क्रममा घटनामा संलग्न हुनेहरूले प्रहरीलाई हमला गरेका थिए।
भक्तपुर परिसरका प्रवक्ता डिएसपी न्यौपानेले भने, 'औषधि पसलमा लफडा भएपछि प्रहरी घटनास्थल पुग्यो। पक्राउ गर्ने क्रममा घटनामा संलग्न हुनेहरूले प्रहरीलाई आक्रमण गरे। र, फरार भए। खोजी गर्ने क्रममा तीनजना पक्राउ परेका छन्। अन्य फरार छन्। उनीहरूको खोजी भइरहेको छ।’