हरेक बिहान–
धुवाँजस्तो हल्का कुहिरोमा बेरिएर नगरकोट उदाउँछ
सँगै उदाउँछे हस्याङफस्याङ गर्दै
टपटेनकी आमा सपनाहरूको साथ
यही जंगल त हो, उसले आफ्ना बैँसका पलहरू बिताएको
यही जंगल हो, उसलाई बाँच्न सिकाउने महान् शिक्षक
पारि देखिने जरसिङपौवाले
कतिपटक लुकामारी खेल्यो उसको बैँससँग...
कतिपटक तोडियो उसको विश्वास...
र त
आफ्नै अनुभवहरूको निचोडबाट उसले बुझेकी छे
कुनै दिन म पनि जानेछु एक शून्य यात्रामा
सब तानाबानालाई बिर्सिएर ...
जुन माटोलाई आफ्नो भनेर चुमिरहेछु
जुन सन्तान, आफन्त र इष्टमित्रलाई
आफ्नो भनेर चुमिरहेछु ।
उसले रोपेका धानका बिरुवाहरू
उसले रोपेका यी बाँसका झ्याङहरू
उसले रोपेका यी नासपातीका बोटहरू
कोदोका नालहरूलाई छँुदै
उदाएर अस्ताउने हरेक दिनको घाम
यही त रहेछ आखिरमा जीवन
जसरी रातको अँध्यारोमा शीतको प्रहारबाट
आफूलाई जोगाउँदै उभिन्छ यो कोदोको बोट
फूलको चक्रलाई मौरीले बुझेझैँ बुझेकी छ उसले
यी ऐंसेलुका बोटहरूले पनि उसलाई नजिकबाट चिनेका छन् ।
यी सब तानाबानालाई थाती राखेर
कुनै दिन
कुनै समय
सिमसिम झरीमा रुझिरहेको
पुरानो लुङ्दारको सरसराहटको फेदमा उभिएर
धेरैपल्ट आफ्नो दुःखलाई भुलेकी छे
र त
लोग्ने र सन्तानकै मायाले बाँची यो जंगलजस्तो घरमा
सम्झन्छे कुन साहसले बाँची ?
संघर्ष र त्यागको एक जिउँदो इतिहास हो ऊ
साहसले भरिएको कथा हो ऊ
यी खुट्टाले कयौँ वर्षदेखि बोकेर हिँडेकी छे
चार सन्तान हुर्काउनुको कथा
घरलाई घरजस्तै बनाइरहनुको कथा ।
यहाँको उकाली–ओराली बाटाहरूलाई
कुल्चेर आएकी छे आफ्नै दुःखलाई झैँ
जब पर हिमाल घामको किरणसँगै लुक्छ
उसैबाट त हो, उसले दुःखलाई
कसरी लुकाउनुपर्छ भन्ने जानेकी
लजालु झारको पातझैँ
मुस्कानभित्र कयौँ दर्शनहरू छन्
तपटेनकी आमा
तिम्रो स्वरूपले मलाई
कसैसँग गुनासो नलिई
जीवन बाँच्ने कला सिकाएको छ ।