त्रिविको नतिजा समयमै प्रकाशन नहुँदा विद्यार्थी हैरान छन्, यसको सुधार गर्ने योजना के छ ?
नतिजा समयमै निकाल्न मैले निर्देशन दिइसकेको छु । परीक्षा भएको तीन महिनाभित्र नतिजा निकाल्नुपर्छ, अन्यथा अनुदान दिइनेछैन भनेर कडा निर्देशन दिएको छु । जसले समयमा नतिजा निकाल्दैन, उसलाई सरकारका तर्फबाट अनुदान नदिने भनेर ‘युजिसी’लाई पनि भनिसकेको छु ।
त्रिविको स्नातक तह पुनः तीन वर्षमा झार्ने योजना यसअघि ल्याइएको थियो, यो राम्रो हो ?
स्नातक तह तीनवर्षेमा झर्दैन । त्यो भनेको के हो भने चार फुटको मान्छेलाई एक फुट काटेर तीन फुट बनाउने भनेजस्तै हो । बरु चारवर्षेलाई पाँचवर्षे बनाउन सकिन्छ, तर त्यसलाई तीनवर्षेमा झार्न मिल्दैन । फेरि तीन वर्षमा झारेर कसलाई के फाइदा हुने हो र ? तीनवर्षे बनायो भने विदेश जाँदैनन् भन्ने ‘लजिक’ पनि सुनिँदै छ । तर, यो कुनै लजिक होइन । तीनवर्षे बनाउँदैमा विद्यार्थी नेपालमै बस्छन् भन्ने के ग्यारेन्टी छ र ? यो त बाहिरका विश्वविद्यालयलाई पनि मान्य हुनुपर्यो नि । पहिले स्नातक तह दुई वर्षको थियो, मैले दुई वर्षको स्नातक तह पास गरेको हुँ । तर, म ०३२ सालमा अमेरिका जाँदा त्यसलाई त्यहाँका विश्वविद्यालयले मान्यता नै दिएनन् । त्यसैले, स्नातक तह कुनै पनि हालतमा तीन वर्षमा झर्दैन ।
एनओसी लिँदा लामो लाइन बस्नुपर्ने बाध्यता छ,लाइन घटाउने उपाय के छ ?
त्यहाँ पनि समस्या छ । यसबारे एनओसीका पदाधिकारी र कर्मचारीसँग छलफल गर्छु । के–के समस्या छन् भन्नेबारे सोधिखोजी गरेर समाधानतर्फ लाग्छु । दुई–तीन दिनपछि यसबारे समाधान हुने गरी कुरा गर्छु । त्यहाँका कर्मचारीलाई बोलाएर, सोधेर यसबारे समाधान निकाल्छु ।