पूर्वडिआइजी हेमन्त मल्ललाई ३ प्रश्न

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

प्रहरीले सधैँझैँ पर्वलक्षित विशेष सुरक्षा योजना ल्याएको छ, खासमा दसैँ–तिहारका वेला काठमाडौंमा केले सुरक्षा खतरा बढाउने रहेछ ?
दसैँमा काठमाडौंबाट ठुलो संख्यामा मानिस बाहिरिने गर्छन् । खाली घरमा चोरीको सम्भावना बढ्छ । त्यस्तै चाडपर्वमा रक्सी खाने, लुकेर जुवातास खेल्ने अभ्यास धेरै हुन्छ । यसले झैझगडा र कुटपिटका घटना बढाउने गरेको छ । त्यस्तै पर्वमा खुला देखिने सडकमा गाडी तीव्र गतिमा हुइँक्याउने प्रवृत्ति पनि छ । त्यसले दुर्घटना बढाउँछ । प्रायः सधैँ देखिने सुरक्षा चुनौती यिनै हुन् । यसपटक जेन–जी आन्दोलनका वेला हजारौँ कैदी जेलबाट भागेका छन् । प्रहरीको मनोबल कम भएको छ । पूर्वाधारमा क्षति पुगेको छ । यस्तो वेलामा सुरक्षा थ्रेट स्वतः बढी हुन्छ । 

विशेष सुरक्षा योजनाका बाबजुद अपराध भइरहेका हुन्छन्, किन होला ?  
जति नै प्रयास गरे पनि अपराध पूर्ण निर्मूल गर्न सकिँदैन । प्रहरीको उद्देश्य अपराधलाई सकेसम्म कम गर्ने हुन्छ । त्यसबाहेक अपराध कम गर्न नागरिकको पनि जिम्मेवारी हुन्छ । सामाजिक सञ्जालमा घर जाँदै छौँ भनेर सपरिवार फोटो हाल्ने प्रवृत्ति छ । त्यस्तै यो समय धनदौलतको तडकभडकपूर्ण प्रदर्शनसमेत गरिन्छ । यो त गलत नियत भएका मानिसलाई चोरी गर्न आऊ भनेजस्तो भयो । त्यसबाहेक मादक पदार्थ सेवन गर्ने र लापरबाहीका साथ सवारी चलाउने कुरामा पनि नागरिकले संयमता अपनाउन आवश्यक छ । 

प्रविधिकै कुरा गर्दा प्रहरीले यसपटक ड्रोनको उपयोग बढाउने भनेको छ । प्रहरीलाई प्रविधिको प्रयोगले अपराध नियन्त्रणमा कत्तिको साथ दिने गरेको छ ? 
प्रविधिले निश्चित रूपमा प्रहरीलाई धेरै सघाएको छ । ड्रोनको प्रयोग त भर्खरै बढ्न थालेको हो । सिसिटिभीले पहिलेदेखि धेरै सघाइरहेको छ । प्रहरी पुग्न नसकेको ठाउँमा समेत सिसिटिभीले अपराधी पत्ता लगाउन सघाएको छ । सिसिटिभी छ भनेपछि अपराधी हच्कन्छन् । तथापि, प्रहरीलाई प्रविधिले थप सुसज्जित बनाउने कुरामा लगानी कम छ । सरकारले यसमा  गानी बढाउनुपर्छ । 

सुझावित समाचार