कास्कीका सहकारीपीडित प्रर्दशनमा उत्रिए

सहकारीको समस्या सम्बोधन, प्रतिवादीको धन सम्पत्ति लिलाम गरि वचत फिर्ता गर्न माग

मंगलबार, ७ असोज, २०८२
डिजिटल संस्करण

कास्कीका सहकारीपीडितले मंगलबार विभिन्न माग राख्दै पोखरामा प्रदर्शन गरेका छन्। सूर्यदर्शन, इमेज, प्राइम, विन्ध्यवासिनी, मित्रमिलन, शिवशिखरलगायतका सहकारीका पीडितहरूले गठन गरेको सहकारी बचतपीडित संघले पोखरामा विभिन्न मागसहित प्रदर्शन गरेका हुन्।

पोखराको पृथ्वीचोकबाट निस्केको सहकारीपिडीतहरूको प्रर्दशन एवं र्‍याली सहिदचोक पुगेर सम्पन्न भएको थियो।

दुई ब्यानर र विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेको पीडितहरूले बोकेको ब्यानरमा ‘सम्पूर्ण सहकारीपीडित बचतकर्ता एक हौ, सहकारीपीडितलाई न्याय देऊ, सहकारीको बचत फिर्ता गराऊ, कारागारबाट फरार सहकारीका थुनुवा प्रतिवादीलाई तुरुन्त पक्राउ गर, सहकारीको मुद्दा पुनः जीवित गर, प्रतिवादीका धनसम्पति लिलामी गरी बचतकर्ताको बचत फिर्ता गर, वर्तमान सरकारबाट सहकारीपीडितको समस्या सम्बोधन गर लेखिएको थियो।

यसैगरी, अर्को ब्यानरमा २३ र २४ भदौको प्रदर्शनका क्रममा न्यायालय तथा सुरक्षा निकायका साथै सार्वजनिक सेवामूलक संरचना र अन्य कार्यालयमा भएको आगजनी तथा तोडफोडको भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरिएको थियो। 
                                                                         
सहकारी बचतपीडित संघ कास्कीका संयोजक किरण श्रेष्ठका अनुसार पीडितहरूको मुख्य माग भनेको सहकारीको समस्या सम्बोधन, प्रतिवादीको धन सम्पत्ति लिलाम गरी बचत फिर्तासँगै कोही प्रतिवादीले बिगो तिरेर मिलापत्र गर्न चाहन्छ भने मिलापत्रको लागि वातावरण बनाऊ भन्ने रहेको बताए।

नयाँ सरकारलाई सहकारीपीडितको समस्याका बारेमा ध्यानाकर्षण गराउनेसँगै खबरदारी गर्नेसमेत रहेको श्रेष्ठले बताए। 

प्रदर्शनका क्रममा सुरुमा सहकारीको मुद्दाका मिसिलहरू राखिएको फाँटबाट आगो लगाउन सुरु गरिएको, प्रदर्शनका क्रममा सहकारी ठगीका प्रतिवादीहरू घुसपैठ गरेर नियोजित रूपमा प्रमाण नष्ट गर्न खोजेको श्रेष्ठको भनाइ छ।

सुझावित समाचार