नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाको घरमा जलेको भनिएको पैसाको विषयमा राज्यका निकायले अनुसन्धान गर्नुपर्ने बताएका छन्। विराटनगरस्थित कोइरालानिवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस विषयमा देउवाले नै जवाफ दिनुपर्नेसमेत बताएका हुन्।
गत २४ भदौको आन्दोलनको क्रममा देउवाको बुढानीलकण्ठस्थित घर जलाइएको थियो। घरमा ठुलो मात्रामा पैसा जलेको भनेर भिडियो र फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। सो विषयमा पत्रकारले गरेको प्रश्नमा उनले जवाफ घरवालाले दिनुपर्ने र राज्यका निकायले अनुसन्धान गरेर स्पष्ट पार्नुपर्ने टिप्पणी गरेका हुन्।
‘यस विषयमा स्पष्ट गर्ने दायित्व घरवालाकै हो, स्पष्ट गर्ने कुरा उहाँहरूले गर्नुपर्छ। मैले ध्यानाकर्षण पनि गराइसकेको छु। यसलाई राज्यले अनुसन्धान गरेर हेर्ने हो, आशंका मात्रै (पनि)हुन सक्छ,’ उनले भने, ’सत्य हुन सक्छ भन्ने कुरा त हामीले अनुमानका भरमा भन्ने कुरो भएन। यसलाई वस्तुगत हेर्ने दायित्व राज्यको हो।’
सो विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालिसकेको छ। देउवाका सचिवालयले भने सो विषय भ्रामक भएको भनेर खण्डन गरेको छ।