आज बडादसैँको पहिलो दिन घटस्थापना । नवरात्रको सुरुवातसँगै प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल बागलुङ कालिका भगवती मन्दिरमा सोमबार बिहानैदेखि भक्तजनको भिड लागेको छ । गण्डकी प्रदेशकै मुख्य शक्तिपीठका रूपमा रहेको कालिका मन्दिरपरिसरमा बिहानैदेखि श्रद्धालु भक्तजनको पूजाआजाका लागि भिड रहेको थियो ।
कालिकामा पूजाअर्चना गर्नाले मनोकांक्षा पूरा हुने विश्वासका साथ घटस्थापनाको दिनदेखि नै देशभरका हिन्दु धर्मावलम्बीहरू मन्दिरमा आउने गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का बताउँछन् ।
मन्दिर दर्शनका लागि अधिकांश भक्तजनहरू जिल्लाबाहिरका रहेका छन् । आइतबार सोह्रश्राद्धको अवसरमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्न र मुक्तिनाथ दर्शन गर्न पुगेका दर्शनार्थी फर्किर सोमबार कालिका दर्शनार्थीका लागि आएको खड्का बताउँछन् ।
भक्तजनको भिड बढ्न थालेपछि थप व्यवस्थित गर्न प्रहरीसहित स्वयंसेवक र मन्दिर व्यवस्थापनका कर्मचारी खटिएका छन्। पछिल्लो समय मन्दिरमा भारतीय भक्तजनको संख्या पनि वृद्धि हुँदै गएको अध्यक्ष खड्काले बताए ।
पाल्पाका राजा मुकुन्दसेनले आफ्नी छोरीको विवाह तत्कालीन पर्वतका राजा प्रतापनारायण मल्लसँग १५९१ मा गरिदिएपछि छोरीले माझकी देवीलाई पनि दाइजोको रूपमा बुबासँग मागेर आफूसँगै ल्याएको र कालीगण्डकी नदी किनारमा विधिपूर्वक स्थापना गरेको इतिहास छ ।
कालीका भगवती मन्दिरमा वडा दसैँको नवदुर्गा र चैतेदसैँको नवदुर्गामा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । मन्दिरमा माघ र साउन महिनाबाहेक वर्षभरि नै दर्शनार्थीको चहलपहल बढ्न थालेको छ ।