इलन मस्कले कम्पनीको एक अर्ब डलरबराबरको सेयर किनेको खुलासा भएपछि सोमबार (सेप्टेम्बर १५) टेस्लाको सेयर ६ प्रतिशतले बढ्यो । टेस्लाका ५४ वर्षीय सिइओ मस्कको कदमले कम्पनीमाथि थप नियन्त्रण गर्ने उनको प्रयासलाई बल पुर्याएको छ । टेस्लाको पछिल्लो सेयर खरिद सन् २०२० पछि मस्कले खुला बजारबाट गरेको पहिलो सेयर खरिद हो । यो घटना कम्पनीको बोर्डले मस्कलाई आगामी दशकमा एक ट्रिलियन (१० खर्ब) डलरको भुक्तानी (तलब) प्याकेज प्रस्ताव गरेको एक हप्तापछि आएको हो ।
टेस्ला अहिले महत्वपूर्ण परिवर्तनबाट गुज्रिरहेको छ । मस्क आफ्नो ‘आर्टिफिसियल इन्टिलिजेन्स (एआई)’ र रोबोटिक्स फर्म रुपान्तरण गर्ने प्रयासमा रहेको समयमा टेस्लाको कारको बिक्री भने घट्दै गएको छ । मस्कको भुक्तानी प्याकेज तीव्र आलोचनाको सिकार बनेको छ । यहाँसम्म कि पोप लियोले समेत इलन मस्कजस्ता कर्पोरेट मालिक र आममानिसबिच तलबको बढ्दो खाडलको निन्दा गरे । विश्वव्यापी अशान्तिको यो एक प्रमुख कारक भएको उनले औँल्याए ।
मस्कले किन किन्दै छन् टेस्लाको सेयर ?
मस्कले सेप्टेम्बर १२ मा टेस्लाको २५.७ लाख सेयर खरिद गरेका थिए, जुन कम्पनीको बजार पुँजीकरणको एक प्रतिशतभन्दा थोरै कम हो । नियामक संस्थाको रेकर्डअनुसार दिनभरिको मूल्यमा भएको भिन्नताका कारण मस्कले खरिद गरेका प्रतिसेयर मूल्य ३७२ डलरदेखि ३९७ डलरसम्म परेको छ । योसँगै मस्क अब टेस्लाको लगभग २० प्रतिशत सेयरका मालिक बनेका छन् । मस्कको खरिदसँगै टेस्लाको सेयर मूल्य बढेकाले कम्पनीका लगानीकर्ता खुसी नै देखिन्छन् । सोमबार (सेप्टेम्बर १५) टेस्लाको सेयर मूल्य लगभग ४२२ डलर पुग्यो, जुन यसको सबैभन्दा उच्च मूल्य ४७९ डलर (डिसेम्बर २०२४ मा पुगेको थियो) भन्दा १२ प्रतिशत कमै हो ।
उसो त, इलन मस्क टेस्लाका मूल संस्थापक होइनन् । कम्पनी स्थापना भएको एक वर्षपछि मात्र उनी लगानीकर्ताका रूपमा कम्पनीमा भित्रिएका थिए । सन् २००४ मा कम्पनी अध्यक्ष बने । दक्षिण अफ्रिकामा जन्मिएका मस्कले टेस्लामा निरन्तर ठुलो हिस्सेदारी र बढी मतदान शक्तिको माग गर्दै आएका छन् । कुनै समय उनले कम्पनीको २५ प्रतिशत मतदान शक्ति नियन्त्रण गर्न नसके टेस्लाभन्दा अलग रहेर एआई सामान र रोबोर्ट निर्माणमा ध्यान दिने बताएका थिए । तर, यसबिच सन् २०२२ मा मस्कले टेस्लाको २० अर्ब डलरभन्दा बढीको सेयर (कुल बजार पुँजीकरणको ४.६ प्रतिशत) बेचे । त्यो रकमसहित उनले ४४ अर्ब डलरमा ट्विटर खरिद गरे । (ट्विटरलाई उनले अहिले एक्स नाममा सञ्चालित गरिरहेका छन् ।) त्यसबाहेक मस्क स्पेसएक्स, न्युरालिंक र द बोरिङ कम्पनीका निजी होल्डिङ्का मालिक हुन् ।
मस्कले कम्पनीमा ल्याउनुपर्नेछ परिवर्तन
टेस्लाका सिइओ मस्कले एक ट्रिलियन डलरको पूर्ण भुक्तानी हात पार्न उनले कम्पनीको पर्फेमेन्समा सुधार गर्नुपर्ने सर्त राखिएको छ । पहिलो कम्पनीको बजार मूल्यांकन १० वर्षभित्र ८.५ ट्रिलियन डलर पुर्याउनुपर्नेछ । आज यसको बजार मूल्य लगभग एक ट्रिलियन डलर छ । साथै उनले कम्पनीले बनाएका दश लाख स्वचालित ट्याक्सी र दश लाखकै संख्यामा रोबोर्टहरू पनि बेच्नुपर्नेछ । त्यसअतिरिक्त टेस्लाको नाफा गत वर्षको भन्दा २४ गुणाले बढाउनुपर्ने सर्त पनि उल्लेख छ ।
टेस्लाले बनाएको स्वाचालित ट्याक्सी हाल अमेरिकाको अस्टिन सहरको सीमित क्षेत्रमा मात्र सञ्चालित छन् । कम्पनीको मुख्यालय रहेको सहरमा अहिले केही दर्जन स्वचालित ट्याक्सीले सेवा दिइरहेका छन् । ‘रोबो–ट्याक्सी’ भनेर चिनिने ती बाहन आफैँ चल्ने सवारीसाधन भए पनि बाहनमा एकजना मानव ‘सुरक्षा पर्यवेक्षकहरू’का रूपमा राखिने गरेको छ । सवारीका क्रममा नसोचेको समस्या आएमा मानव पर्यवेक्षकले हस्तक्षेप गर्ने बताइएको छ ।
उता टेस्लाको रोबोटिक्स शाखाले सन् २०२२ मा आफ्नो पहिलो मानवजस्तो देखिने रोबोर्ट ‘ओप्टिमस’ अनावरण गर्यो । सन् २०२४ मा मस्कले एक वर्षभित्रै पाँच हजार युनिट रोबर्ट उत्पादन गरिसक्ने र ‘आफ्नै कारखानाको प्रयोगमा’ समेत ती रोबर्ट तैनाथ गरिसक्ने बताएका थिए । एक वर्ष पूरा भइसक्दा मस्कका दुईमध्ये कुनै पनि वाचा पूरा भएका छैनन् । मस्कले अहिले फेरि ‘टेस्लाको भाविष्यको मूल्यको ८० प्रतिशत ओप्टिमस’ले ओगट्ने दाबी गर्न थालेका छन् ।
कसरी बढेको छ टेस्लामा मस्कको तलब ?
सन् २००४ मा मस्क टेस्लामा प्रवेश गरेदेखि नै मस्कले नगदमा निकै कम तलब लिने गरेका छन् । उनले नगदको सट्टा ‘इक्विटी’मा भुक्तानी लिने गर्छन् । सन् २०१८ मा सेयरहोल्डरले मस्कका लागि एक ऐतिहासिक १० वर्षे तलब प्याकेज अनुमोदन गरे । कम्पनीले निश्चित लक्ष्य हासिल गरेमा मस्कले अनुमानित २.६ अर्ब डलर पाउने व्यवस्था गरिएको थियो । सन् २०२० को प्रारम्भसँगै टेस्लाको बजार मूल्य बढ्न थाल्यो । (त्यो समय केवल २९.५० डलर प्रतिसेयरमा कारोबार भइरहेको थियो ।) दुई वर्षअघिको तलब प्याकेजका अधिकांश सर्त पूरा भएपछि मस्कले ठुलो संख्यामा थप टेस्लाका सेयर प्राप्त गरे ।
लगत्तै कोभिड–१९ महामारीकालपछि टेस्लाको सेयर मूल्यमा व्यापक उछाल देखिँदा मस्कको आम्दानी पनि ४० देखि ६० अर्बसम्मले बढेको अनुमान गरिन्छ । टेस्लामा मस्कको तलबमा भएको अप्रत्याशित वृद्धिले डेलावेयरको चान्सरीको अदालतबाट छानबिनमा समेत तानिएका थिए । छानबिनका बाबजुद कम्पनीका अधिकांश सेयरहोल्डरले सिइओको भुक्तानी प्याकेजलाई अनुमोदन गरेका छन् ।
टेस्लाले गैरकार्यकारी तलबहरू खुलासा नगर्ने भएकाले मस्कको आम्दानी त्यहाँको औसत कामदारसँग तुलना गर्न केही गाह्रो छ । तर, पछिल्लो समय अमेरिकामा कर्पोरेट तहका पदाधिकारीको तलब त्यहीँका कामदारको तुलनामा उल्लेख्य बढेको अध्ययनले देखाउँछ । आर्थिक नीति संस्थानका अनुसार सन् २०२४ अघिसम्मको पछिल्लो ५० वर्षको अवधिमा अमेरिकाका ५०० ठुला सेयरमा सूचीकृत कम्पनीका सिइओको औसत तलब लगभग एक हजार प्रतिशतले बढ्यो । जबकि तिनै कम्पनीका एक सामान्य कामदारले सोही अवधिमा आफ्नो तलब प्याकेजमा मात्र २७ प्रतिशतले वृद्धि महसुस गरे । यो तथ्यांक मुद्रास्फीतिको समेत समायोजनपछिको हो । आर्थिक नीति संस्थानका अनुसार विगत पाँच दशकको अवधिमा सिइओ र कामदारबिचको तलबको अनुपात ३० : १ बाट बढेर ३५०: १ पुगेको छ ।
यसै सन्दर्भमा गत हप्ता क्याथोलिक समाचार वेबसाइट ‘क्रक्स’सँगको एक अन्तर्वार्तामा पोप लियोले इलन मस्कको सम्पत्तिलाई ‘मानव–जीवन, पारिवारिक र सामाजिक मूल्य’लाई क्षति पुर्याउने हदको सम्पत्तिको रूपमा चित्रण गरे । टेस्लाको प्रस्तावित एक ट्रिलियन डलरको तलब प्याकेजबारे सोधिएको प्रश्नमा लियोले भनेका थिए, ‘यसले के नै बताउँछ भन्नुस् न ? यदि, अब व्यक्तिगत सम्पत्ति सञ्चय नै एक मात्र महत्वपूर्ण चिज बाँकी रहेको हो भने विश्व ठुलो समस्यामा परेको मान्नुपर्ने हुन्छ ।’
टेस्लाको सेयरमा निरन्तर ह्रास
पछिल्लो समयको हल्का वृद्धिका बाबजुद बजार प्रदर्शनका आधारमा ‘म्याग्निफिसेन्ट ७’ भनिने ठुला प्रविधि कम्पनीमा टेस्लाको सेयरले सबैभन्दा कमजोर प्रदर्शन गरिरहेको छ । अल्फाबेट (गुगलको मातृसंस्था), अमेजन, एप्पल, मेटा, माइक्रोसफ्ट र एनभिडिया समावेश यस समूहको सदस्य रहेको टेस्लाले यस वर्ष अहिलेसम्म यसको मूल्यको लगभग दुई प्रतिशत गुमाइसकेको छ । टेस्लाको सबैभन्दा पछिल्लो त्रैमासिक नतिजाले विद्युतीय सवारी साधनको मागमा गिरावट देखिएको छ ।
उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अधिकांश देशका आयातित सामानमा भन्सार बढाएपछि पार्टपुर्जाको भाउ बढ्दा कम्पनीको नाफा घटेको छ । आगामी दिनमा आम्दानी थप घट्ने प्रक्षेपण गरिएको छ । ट्रम्पले अक्टोबरपछि अमेरिकी उपभोक्ताका लागि विद्युतीय सवारीसाधन खरिदकर्ताले पाउँदै आएको कर छुट बन्द गर्ने बताएका छन् । कर छुटले सस्तिएको विद्युतीय कार छुट अन्त्य भएपछि महँगिने भएकाले सन् २०२५ को अन्तिम तीन महिनामा अमेरिकामा टेस्ला कारहरूको बिक्री थप घट्ने सम्भावना छ ।
अल जजिराबाट