हाम्रा राष्ट्रिय राजमार्गहरू किन जहिल्यै जोखिमपूर्ण रहन्छन् ?
हाम्रो देशको भूबनोटका आधारमा हेर्दा अधिकांश राष्ट्रिय राजमार्ग कमजोर पहाडी भूभागबाट गएका छन् । पहाडी भूबनोट विशिष्ट प्रकृतिको हुन्छ । विशेषगरी हाम्रो महाभारत र चुरे पर्वत शृंखला तुलनात्मक रूपमा कमजोर छन् । हाम्रो इन्जिनियरिङमा सडकको ट्र्याक खुलाउने, नालाहरू बनाउने, ग्राभेल गर्ने, पिच गर्ने, गाडी गुडाउने भन्ने विषयमा मात्र ट्रेनिङ दिइयो ।
सडकको ट्र्याक खोलेर ट्र्याक्टर गुडाउन पाए खुसी हुने जनता र त्यसैलाई उपलब्धि भनेर गणना गर्ने सरकार सबैका कारण यो समस्या आएको हो । नेपालको भूपरिवेश सुहाउँदो, यहाँको भूबनोटअनुरूप सडक निर्माणको खासै ट्रेनिङ नै भएन । भौगोलिक अवस्थाको प्राविधिक विश्लेषण गरेर आयोजनाको विस्तृत अध्ययन, डिजाइन आदिमा ध्यान पु¥याउन नसक्दा हाम्रा अधिकांश राजमार्गहरू प्रायः जोखिमपूर्ण देखिएका हुन् ।
संकटको समयमा राष्ट्रिय राजमार्गको विकल्प नै नहुनुले के संकेत गर्छ ?
हामीकहाँ सडक सञ्जालको डिजाइन गर्दै गर्दा कुनै एक सडक अवरुद्ध भएमा सवारी साधनलाई ‘डाइभर्ट’ गरेर गन्तव्यतिर पठाउन सकिने अर्को समानान्तर सडकको कल्पना नै गरिएन । जहिले पनि सडकको ट्र्याक खुलाएर गाडी गुडाउने विषयमा मात्र सोचियो । सबै राजमार्ग या सडकलाई पहिरोमुक्त गराउन यहाँको भूबनोटका कारण पनि सम्भव छैन । तर, प्रमुख राजमार्गहरूमा भने पहिरो रोकथामका विकल्प अपनाउन सकिन्छ । कतिपय पहिरो बढी गइरहने स्थानमा स्लोप आकारका टनेलजस्तो छानो बनाउन सकियो भने पहिरो त्यसमाथिबाट तलतिर जान्छ, सडक सुरक्षित रहन्छ ।
राजमार्गहरूलाई दिगो र भरपर्दो बनाउन के गरिनुपर्छ ?
यसका लागि डिजाइनदेखि नै ध्यान दिनुपर्छ । नागरिकलाई सेवा दिन मात्र होइन, अर्थतन्त्रलाई नै गति दिन पनि सडक चाहिन्छ । त्यसैले, यसको गुणस्तर, सुरक्षा र दिगोपनमा कुनै सम्झौता गर्नु हुँदैन । अब हामी आधारभूत र निर्वाहमुखी सडक योजनाबाट भरपर्दो, गुणस्तरीय, दिगो र विश्वसनीय सडक अवधारणामा जानुपर्छ ।