साउनको पहिलो हप्ताबाट सुरु भएको पहिरोले बन्द अरनिको राजमार्ग नखुल्दा तातोपानी नाका भएर हुने आयात प्रभावित भएको छ । दुई महिनादेखि कोदारी सडक बन्द हुँदा छिमेकी चीनबाट आयात गरिएका फलफूलजन्य सामग्री कुहिएका छन् । चाडपर्वलक्षित सामग्रीमा फलफूल आधाजसो कुहिएको र रेडिमेड सामान कपडा, जुत्ताचप्पल चिनियाँ क्षेत्रमै रोकिएका छन् ।
दुई महिनादेखि बन्द कोदारी सडकको इको क्षेत्रमा सडक डिभिजन कार्यालय चरिकोटले पहिरो पन्छाउन नियमित प्रयत्न गरेको छ । तर, दैनिक हुने वर्षाले पहिरो पनि रोकिएको छैन । वर्षा नरोकिँदासम्म इको पहिरो नियन्त्रणमा आउन कठिन रहेको सडक डिभिजनले जनाएको छ । सडकमाथि पहिरो र पहिरोमाथि गाउँ भएकाले पहिरो पन्छाउन कठिन परेको हो ।
इको मात्रै होइन, अविरल वर्षाले डाक्लाङ र मिनिट्रक पार्किङ क्षेत्रमा पनि पहिरोले सडक अवरुद्ध छ । लिपिङबाट भरियाले बोकेर इको पहिरो कटाएका २१ कन्टेनर फलफूल डाक्लाङ पहिरोले रोकेपछि १२ दिनदेखि रोकिएका छन् । १५ कन्टेनर फलफूल मितेरीपुल कटेर लिपिङ क्षेत्रमा रोकिएको नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यसमिति सदस्य शारदाप्रसाद पराजुलीले बताए । ‘आधाजसो फलफूल कुहिएका छन् । यो वर्ष व्यापारीको कुल लगानी नै डुबेको छ,’ उनले भने । यद्यपि, चाडपर्वमा फलफूलको मूल्य नबढ्ने उनले प्रस्ट्याए ।
पहिरोका कारण दुई महिनादेखि तातोपानी भन्सारको राजस्व संकलनमा गम्भीर धक्का लागेको सूचना अधिकृत रमेशबहादुर शाहले बताए । साउन र भदौमा भन्सारले राखेको लक्ष्यको ३० प्रतिशत मात्रै राजस्व उठेको उनले सुनाए । फलफूलजन्य सामग्री भरियाले बोकेर भन्सार ल्याएका हुन् । ‘केही कन्टेनर रेडिमेड सामान पनि बोकेर ल्याइएको थियो । तर, पहिरोबाट हिँड्दा मानवीय क्षति हुने भएकाले अहिले रोकेका छौँ,’ उनले भने, ‘इकोमा सडक बनाउने काम जारी छ । सायद चार–पाँच दिनपछि खुल्ला ।’
सडकको अवस्थाले गर्दा दसैँअघि तातोपानी नाकाबाट सामान आयात सहज छैन । निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नवनियुक्त ऊर्जा, पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले इको पहिरो नियन्त्रण गरेर सडक खुलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । तर, कमजोर भूगोलका कारण सडक बनाउन सकिएको छैन ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले तातोपानी र रसुवाबाट दसैँअघि आयात सम्भव नभएको बताए । अहिले पनि चिनियाँ क्षेत्रमा एक हजारभन्दा बढी कन्टेनर अड्किएका छन् । नयाँ फेसनका कपडा र जुत्ताचप्पल काठमाडौं नआइपुगे पनि दसैँमा रेडिमेड सामग्रीको अभाव भने नहुने कार्कीको भनाइ छ ।
तातोपानी नाका अवरुद्ध भएपछि चिनियाँ ट्रान्सपोर्ट कम्पनीहरूले खासा, न्यालम र केरुङमा रहेका सामान मुस्ताङको कोरोलाबाट नेपाल पठाएका छन् । हालसम्म कोरोलाबाट एक सयभन्दा बढी कन्टेनर सामग्री र दुई सयजति इभी गाडी नेपाल भित्रिएका छन् । कोरोलाबाट भित्रिएका सामानको मूल्यवृद्धि हुने निश्चित छ ।